काठमाडौं, १० मंसिर— चौतर्फी आलोचना भएपछि तिब्बती धार्मिक नेता दलाई लामाले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् ।
गत महिना उनले बुद्ध नेपालमा नजन्मिएको भनि अभिव्यक्ति दिएपछि नेपालमा त्यसको चर्को आलोचना भएको थियो । अहिले फेरि आफ्नो बोली सच्याउँदै भारतमा निर्वासित जीवन बिताइ रहेका दलाई लामाले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको बताएका हुन् ।
लामाले टिबेट डट नेटनामक वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् ।
यसअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए ।
उनले ज्ञानमार्फत बुद्धले समग्र एसियामा पारेको प्रभाव बुझ्नु अपरिहार्य भएको भन्दै उनलाई कुनै पनि देशमा मात्र सीमित गर्न नहुनेमात्रै आफूले धारणा राखेको उनको दाबी छ ।