काठमाडौं, २१ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको गतिरोध अन्त्य गर्नका लागि कूटनीतिक प्रयासमा आफू खुला रहेको संकेत गरेका छन् ।
उनले प्योङयाङलाई वार्ताको टेबलमा आउन र डील गर्न आग्रह गरेर पहिलेको जस्तो चेतावनीयुक्त भाषामा परिवर्तन ल्याएका छन् ।
दक्षिण कोरियाको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति मून जे–इनसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकाले आणविक मामिला सुल्झाउनका लागि प्रगति गरिरहेको ट्रम्पले बताए ।
‘हामीले प्रगति गरिरहेका छौं भन्ने मलाई लाग्छ ... म निश्चित गतिविधिहरू देखिरहेको छु । तर हेरौं के हुन्छ,’ ट्रम्पले सउलमा भने । एसियामा १२ दिने भ्रमणका क्रममा ट्रम्प दुई दिन दक्षिण कोरियामा रहनेछन् ।
‘उत्तर कोरिया वार्ताको टेबलमा आएर कुनै डील गरे त्यहाँका जनताका लागि राम्रो हुन्छ,’ ट्रम्पले भने ।
यसअघि ट्रम्पले उत्तर कोरियामाथि आगो बर्साउने टिप्पणी गरेका थिए अनि उत्तरका सर्वोच्च नेता किम जोङ–उनलाई रकेट मानव भनी गिल्ला गरेका थिए । तर आजको बयानमा उनले त्यस्तो आपत्तिजनक कुरा केही गरेनन् ।
ट्रम्पले नरम कुरा गरेपनि उत्तर कोरियाले आणविक हतियार कार्यक्रम बन्द नगर्ने बताएको छ ।
एजेन्सी