सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार सेनाले आइएस लडाकुहरुलाई उनीहरुको उल्लेख्य उपस्थिति रहेको पूर्वी नगर देर-अल-जोरबाट भगाएको छ।
सिरियाको सीमापारि इराकको अल क्वेम् नगरमा पनि सरकार समर्थित फौजले आइएसविरुद्ध दबाब बढाएका विवरण प्राप्त भएका छन्।
सिरियाली सरकारी टेलिभिजनका अनुसार देर-अल-जोरलाई सेनाले आइएसको कब्जाबाट मुक्त गरेको छ।
अन्य खबरहरुमा सो नगरका आइएसका अन्तिम नियन्त्रण क्षेत्रमा सिरियाली सेना र उसका सहयोगीहरुले कारबाही जारी राखेका छन्।
इराकसँग सीमा जोडिएको रणनीतिक महत्वको देर-अल-जोरलाई सन् २०१४ मा आइएसले आफ्नो कब्जामा लिएको थियो।
लडाइँ
सीमापारि पर्ने इराकी नगरमा पनि आइएसविरुद्ध कारबाही तीव्र बनाइएका खबर प्राप्त भएका छन्।
पछिल्ला केही सातायता देर-अल-जोर प्रान्तबाट करिब तीन लाख पचास हजार गैरसैनिकहरु आफ्ना घर छोडी अन्यत्र जान बाध्य तुल्याइएको थियो।
देर-अल-जोर आइएसको यसअघिको मुख्यालय मानिने रक्का नगर र इराकी सीमाको बीचमा अवस्थित छ।
यसै क्षेत्रबाट आइएसले हातहतियार लडाकु र सरसामान ओसार पार्ने गर्दथे।
बीबीसीका कूटनीतिक संवाददाता जनाथन मार्कस भन्छन्, आइएस विरुद्धको लडाइँमा सरकारी फौजहरु जिततर्फ अग्रसर देखिएपनि सिरियामा स्थिति जटिल बन्दैछ।
चासो
उनी भन्छन्, "त्यहाँ अब सिरियाली सरकारी फौज र अमेरिका समर्थित कुर्द समूहहरुबीच द्वन्द्व बढ्न सक्ने अवस्था आएको छ।"
सिरियाको ठूलो भूभागमा कुर्द समूहहरुको नियन्त्रण कायम छ।
इरानले आफ्नो क्षेत्रीय प्रभाव जमाउन खोज्दै छ भने ट्रम्प प्रशासनले कस्तो नीति अवलम्बन गर्ला भन्ने चासो बढिरहेको छ।
राष्ट्रपति बसर अल-असदले चाहिँ आफूलाई बलियो बनाइसकेका छन् र उनले आउँदा महिनाहरुमा विपक्षी शक्तिहरुमाथि दबाब बढाउने अपेक्षा गरिएको छ।