संसदमा गठबन्धनको बहुमतपछि जापानी प्रधानमन्त्रीको वाचा– उत्तर कोरियालाई कडा जवाफ दिन्छौं !

Everest Fuji News २०७४ कार्तिक ६ मा प्रकाशित       Published at 2017 Oct 23


  एजेन्सी– जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियालाई कडा जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मध्यावधि निर्वाचनमा आफू नेतृत्वको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को गठबन्धनले संसदमा दुई तिहाइ हासिल गरेपछि प्रधानमन्त्री आबेले यस्तो बताएका हुन्। उनले भने, ‘चुनावमा मैले गरेको वाचा पूरा गर्ने समय हुँदैछ । मेरो पहिलो काम उत्तर कोरियालाई जवाफ दिनु हो । यसका लागि सुदृढ कूटनीतिको खाँचो छ।’ उत्तर कोरियाले केही साताअघि जापानको उत्तरस्थित होक्काइदो टापुमा दुई वटा मिसाइल प्रहार गरेको थियो। आइतबार भएको मध्यावधि चुनावको मतगणना परिणाम सोमबार बिहानै सार्वजनिक भएको थियोे । सरकारी टेलिभिजन एनएचकेले प्रधानमन्त्री आबेको पार्टी एलडिपीले प्रतिनिधिसभाको ४ सय ६५ सिटमध्ये २ सय ८३ सिट जितेको जनाएको छ । जापानको प्रधानमन्त्री आबेले संसद् डायटको अवधि सकिन एक वर्ष बाँकी हुँदै गत सेप्टेम्बरमा मध्यावधि चुनावको घोषणा गरेका थिए। यो जितले आबे अझै तीन वर्ष एलडिपीको अध्यक्ष हुने सम्भावना बढेको छ । एलडिपीको अध्यक्षको निर्वाचन सन् २०१८ सेप्टेम्बरमा हुनेछ। प्रधानमन्त्री आबेको सत्तारुढ गठबन्धनले संसदमा कुल ३ सय १२ सिट जितेको छ, जुन संसद्को दुई तिहाइ बहुमत हो । जापानमा दोस्रो विश्वयुद्धपछि आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका छन् । उनी सन् २००६ र २००७ मा पनि प्रधानमन्त्री भएका थिए। एनएचकेले अझै डायटका १० सिटको मतगणनाको परिणाम आउन बाँकी रहेको जनाएको छ।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.