३० जुलाइ २०१७ मा जनमुक्ति सेनाको ९० औं स्थापना दिवसमा आयोजित सैनिक परेड कार्यक्रममा सेनाको जिपमा सवार चिनियाँ राष्ट्रपति सी ।
तस्बिरः सिन्ह्वा चिनियाँ राष्ट्रपतिले पार्टी, राज्य, सेना र नागरिक समाजमाथि नियन्त्रण गरिसकेका छन्
राष्ट्रपति सी जिनपिङले सफलतापूर्वक चीनलाई अगाडि बढाउन सक्लान् त ? यो अहिलेको विश्वको महत्वपूर्ण राजनीतिक प्रश्न भएको छ । ‘हो, सीले सक्छन्’, बेइजिङका केही मानिसहरू भन्छन् । ‘उनले सक्दैनन्’, अरू भन्छन् । चीन र विश्व राजनीति जानेबुझेको मानिसलाई थाहा छ- यसको उत्तर कसैलाई पनि थाहा छैन ।
वासिंटनमा पनि ठूलो बहस चलिरहेको छ । जिनपिङ नेतृत्वमा आएपछि चीन बलियो, दृढ र आक्रामक बन्दै जाँदा चीनप्रतिको अमेरिकी नीति परिवर्तन गर्ने कि नगर्ने भन्नेबारेमा छलफल भइरहेका छन् । परिवर्तन गर्ने हो भने कसरी गर्ने र के गर्ने ? दक्षिण चिनियाँ सागरका कृत्रिम टापुहरूमा हातहतियार तैनाथ गर्ने हो कि ?
सस्तो श्रमशक्तिको संख्या कम हुँदै जाँदा चीनले आफ्नो आर्थिक वृद्धिलाई कायम राख्न सक्ला त भन्ने प्रश्नहरू उठेका छन् । जनताका आम्दानी बढ्दै जाँदा मध्यमस्तरका अर्थतन्त्र भएका मुलुकहरू यस्तै समस्यामा परेका छन् । अरू मुलुकमा भन्दा पनि बढी अधिनायकवादी व्यवस्था भएका कारण चीनको विदेश नीति र अर्थतन्त्रमा सबैभन्दा ठूलो असर भने त्यहाँको राजनीतिक नेतृत्वले लिने निर्णयले पार्नेछ । यस अर्थमा चीनको राजनीतिक व्यवस्था र त्यसमा आउने परिवर्तन सबैभन्दा महत्वपूर्ण विषय हुन् ।
अहिलेसम्ममा सी के चाहन्छन् भन्ने प्रस्ट भइसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा माथिबाट तलसम्म गरिने परिवर्तनको माध्यमले चीनको जटिल अवस्थामा रहेको समाज र अर्थतन्त्रलाई उनी अगाडि बढाउन चाहन्छन् । चिनियाँ कम्युनिस्ट पार्टी खुला बजार अर्थतन्त्र र कम्युनिस्ट पार्टीनियन्त्रित राज्य र राजनीतिको सचेत रूपमा गरिएको मि श्रणको प्रयोग गरेर आफ्नो मुलुकलाई अगाडि बढाउन चाहन्छ । विश्व इतिहासमा यस्तो प्रयोग कहिल्यै पनि भएको छैन । यो प्रयोग अद्वितीय छ । चीनको यो अनुपम प्रयोगमा महान् नेता माओत्से तुङ एउटा प्रेरणा हुन् भने व्यावहारिक सुधारवादी नेता देङ सियाओ पिङ अर्का र उत्तिकै महत्वपूर्ण छन् । ‘सीले देङको मार्ग अवलम्बन गर्नेछन्’, चीनको सरकार समाचार एजेन्सी सिन्ह्वाले प्रसारण गरेको एउटा टिप्पणीमा भनिएको थियो ।
सीले गरेको अधिनायकवादको चतुर प्रयोगले उनको पार्टीलाई शक्तिशाली बनाइराख्ने मात्रै छैन कि पूरै राजनीतिलाई जनताको नजिकै राखिरहनेछ । सी र चिनियाँहरूले चाहे झैं यी सबै प्रयोग सफल भए भने पश्चिमा मोडेलको उदारवादी र पुँजीवादी प्रजातन्त्रको लागि यो बलियो र प्रतिस्पर्धी विचारधारा हुनेछ । यसले विकासोन्मुख मुलुकहरूलाई आकर्षित गर्न सक्छ ।
अहिलेसम्म सीले पार्टी, राज्य, सेना र नागरिक समाजमाथि नियन्त्रण गरिसकेका छन् । बो जीलाई प्रकरणले पार्टीभित्रको आन्तरिक समस्या सतहमै ल्याइदिएको थियो । तर पारिवारिक विरासतकै कारण कम्युनिस्ट बनेका सीले (सीका पिता पनि चिनियाँ कम्युनिस्ट पार्टीका नेता थिए) समय र परिस्थितिको ज्ञान भएको र सीपयुक्त अधिनायकवादी शासकले परिस्थितिलाई सबैभन्दा राम्रोसँग सामना गर्न सक्छन् भन्ने ठानेका हुन सक्छन्, त्यस्तै शासन व्यवस्था उपयुक्त हुन्छ भन्ने ठानेका हुन सक्छन् । लेनिनको मात्र होइन, प्लेटो र कन्फुसियसका विचारहरूको पनि प्रयोग गर्नुपर्ने उनले ठानेका छन् भन्ने उनका मन्तव्यहरूबाट थाहा पाइन्छ ।
सन् १९४८ मा चीनविज्ञ र्यान मिचेलले एउटा आलेखमा एकजना ठूला कम्युनिस्ट नेता सी झोङछनले भनेको भन्दै लेखेका छन्, ‘हामी कम्युनिस्ट पार्टीका सदस्यहरूमा हुने राम्रा गुण भनेको समर्पण भाव र इमानदारी हुन् ।’ सन् २०१३ मा पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै उनका छोरा वर्तमान चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेका थिए, ‘कम्युनिस्ट पार्टीका अगुवा कार्यकर्ताले सर्वसाधारण जनतालाई समर्पण भाव र इमानदारीका साथ व्यवहार गर्नुपर्छ ।’ यसले वर्तमान राष्ट्रपतिमा उनका पिता र त्यो समयको कम्युनिस्ट पार्टीको सोच र कार्यशैलीको छाप परेको देखिन्छ।
चीनमा बढ्दै गएको नियन्त्रण र अधिनायकवादले पार्टी र राज्यको कारबाहीमा परेका हजारौं अधिकारी र कार्यकर्तालाई अप्ठेरो स्थितिमा पुर्याएको छ । स्वतन्त्र र आलोचनात्मक बहस हुनुपर्छ, नागरिकले स्वतन्त्र रूपमा सामूहिक क्रियाकलाप गर्न पाउनुपर्छ र गैरसरकारी संस्थाहरू सञ्चालन गर्न पाउनुपर्छ भन्ने चिनियाँहरूलाई सीको शासनविधिले अप्ठेरो स्थितिमा पुर्याएको छ । अहिले बेइजिङ जाँदा जीमेल, गुगल र इन्टरनेटमा केही सुविधा लिन गाह्रो पर्छ । केही वर्ष पहिला चीन निकै खुकुलो भइसकेको थियो । अहिले चिनियाँ बौद्धिकहरू सार्वजनिक स्थानहरूमा खुला रूपमा बोल्न हच्किन थालेका छन् । केही वर्षअघि खुलेर बोल्न थालिसकेका उनीहरूमा अहिले एक किसिमको डर देखिन्छ ।
अगुवा नागरिक अधिकारकर्मी र ब्लगरहरू गिरफ्तार गरिएका र विभिन्न आरोपमा थुनिएका छन् । गैरसरकारी संस्थाहरूमा रूसी राष्ट्रपति पुटिनले लगाएका जस्ता प्रतिबन्ध लगाउने नयाँ कानुनको मस्यौदा प्रस्ताव गरिएका छन् । अर्को कानुनले राष्ट्रिय सुरक्षाको परिभाषाभित्र विचारधारा र संस्कृतिलाई पनि समेटेको छ । उक्त परिभाषाअनुसार चीनले ‘राष्ट्रिय सुरक्षाको लागि चीनको अद्वितीय संस्कृति र चिनियाँ राष्ट्रवादलाई अगाडि बढाउने र हानिकारक संस्कृतिहरूको हस्तक्षेपको प्रतिरोध गर्नेछ’ ।
सीको समर्थन र विरोध गर्ने दुवैथरीले यस्ता परिवर्तनहरू गरेको स्विकार्छन् । सीको समर्थन गर्नेहरूले उनले यस्तै दृढनिश्चयका साथ अगाडि बढाएका सुधारका कार्यक्रमहरू हेर्न र प्रशंसा गर्न भन्छन् भने उनका विरोधीहरूले यस्तो पश्चगामी क्रियाकलाप खेदजनक भएको बताउँछन् । स्थानीय सरकारहरूको ऋण घटाउन, कृषिका लागि प्रयोग गरिने जग्गाको अधिकार र परिवारहरूलाई दिइने सुविधाका लागि पुनः थालिएका कार्यक्रमहरू पश्चिमा सञ्चारमाध्यमका हेडलाइन बनेर आउनुपर्ने उनीहरू ठान्छन् ।
सीले गरेको अधिनायकवादको चतुर प्रयोगले उनको पार्टीलाई शक्तिशाली बनाइराख्ने मात्रै छैन कि पूरै राजनीतिलाई जनताको नजिकै राखिरहनेछ ।
सी र चिनियाँहरूले चाहे झैं यी सबै प्रयोग सफल भए भने पश्चिमा मोडेलको उदारवादी र पुँजीवादी प्रजातन्त्रको लागि यो बलियो र प्रतिस्पर्धी विचारधारा हुनेछ । यसले विकासोन्मुख मुलुकहरूलाई आकर्षित गर्न सक्छ । यस्तो भयो भने पनि यसलाई पश्चिमा विश्वको लागि चुनौती मात्रै ठान्नु हुन्न, उल्टै फाइदा हुनेछ । बलियो प्रतिस्पर्धी भयो भने यथार्थ धरातलमा टेकिरहनुपर्ने हुन्छ । सन् २००० को दशकको सुरुआततिर पश्चिमा राष्ट्रहरूमा उत्पन्न अहंकार प्रतिस्पर्धीको अभावले भएको हो । त्यस्तो अहंकारले इराकलगायत मुलुकमा शासन व्यवस्था फेर्न उक्सायो र मुलुकभित्र पुँजीवादको उग्ररूप लागू गर्न उक्सायो ।
पश्चिमा मुलुकहरूमा देखिएको जस्तोे अहंकार चीनमा नदेखिएको राम्रो हुन्छ । चीनमा क्रान्तिकारी र छोटो समयमा भन्दा विस्तारै र स्वाभाविक विकासक्रममा परिवर्तन भयो भने राम्रो होला । यो चाहका पछाडि केही तर्कहरू छन् । धेरै चिनियाँ पनि यस्तै चाहन्छन् । यो विश्व शान्ति र युद्धको त्रासदीसँग जोडिएको विषय हो । चीनमा छिटोछिटो परिवर्तन भए भने चिनियाँ शासन पद्धति संकटमा पर्न सक्छ।
संकटमा परेको कम्युनिस्ट शासन व्यवस्थाले खासगरी उसको छिमेकलाई लक्षित गरेर ‘राष्ट्रवाद’ को आक्रामक कार्ड खेल्नबाट आफैंलाई रोक्न सक्तैन । त्यहीमाथि चीनले सधैं दोहोर्याउँदै आएको १५० वर्षको बाह्य हस्तक्षेपका कारण सामना बेहोर्नुपरेको राष्ट्रिय लज्जा र विगतका घटनाक्रमको राज्य र कम्युनिस्ट पार्टीलाई सजिलो हुने गरी गरिएको प्रस्तुतिले चिनियाँ नागरिकलाई कम्युनिस्ट पार्टी र चिनियाँ राज्यप्रति समर्पित बनाएको छ । दशकौंसम्म सर्वसाधारणलाई प्रशिक्षित गरिएको कम्युनिस्ट विचारधारा र चिनियाँ राष्ट्रवादले चीनका शासकलाई राष्ट्रवादको कार्ड खेल्न सजिलो बनाउनेछ । चीनले बनाएका कृत्रिम टापुहरूमाथि अमेरिकी निरीक्षक विमानहरू उड्दा उसले अमेरिकालाई गम्भीर चेतावनी दिएको छ ।
थप बाह्य र गम्भीर चुनौतीहरू सामना गर्नुपर्यो भने के गर्ला ? सजिलै कल्पना गर्न सकिन्छ । त्यस्तो बेला युद्ध खतरा हुन अमेरिका र चीनबीच प्रत्यक्ष युद्ध हुनै पर्दैन । बाराक ओबामाको शासनकालमा चीनलाई कतिसम्म चिढाउन सकिन्छ भन्नेमा स्पष्ट सीमा कोरिएको थियो । चीनले पनि त्यस्तै सीमा कोरेको थियो । यी सीमारेखा मिच्नुको परिणाम असाध्यै खतरनाक र अकल्पनीय हुन सक्छ । तर सीको नेतृत्व क्षमता र कौशलका कारण उनले यस्तो अवस्था आउनबाट पार लगाउन सक्छन् भन्ने आशा गर्न सकिन्छ ।
बहुदलीय लोकतन्त्र उत्कृष्ट व्यवस्था हो भनेर तर्क गर्न लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति नै हुनुपर्छ भन्ने होइन । लोकतन्त्रमा पाइने स्वतन्त्रताहरू महत्वपूर्ण छैनन् भन्नु बेइमानी हुन्छ । समाजलाई कस्दै जानुभन्दा विस्तारै खुल्दै जानु चीनका लागि उपयुक्त हुन्छ भन्ने चीनका कामरेडहरूले बुझ्नु आवश्यक छ ।
-दि गार्डियनबाट अनूदित । एस युनिभर्सिटी अफ अक्सफोर्डमा ‘युरोपियन स्टडिजका प्राध्यापक’ हुन्।