पाकिस्तानमा धार्मिक हिंसा भडकिँदा ३२ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएको छ ।
खैबर पख्तुनख्वा प्रान्तमा शिया र सुन्नी मुसलमान समुदायबीच भएको झडपमा १४ सुन्नी र १८ शिया समुदायका मानिसको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । हिजो राति आक्रोशित शिया समुदायका व्यक्तिहरूको समूहले सुन्नीको बाहुल्यता रहेको बागान बजारमा आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूले बजारका सबै घर र गाउँका घरहरूमा समेत पेट्रोल छर्किएर आगो लगाएका एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । तीन सय वटाभन्दा धेरै पसल र एक सय वटाभन्दा धेरै घर जलेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । एउटा बसमा भएको आक्रमणमा ४३ जनाको ज्यान गएको थियो । अफगानिस्तानको सिमानामा रहेको पहाडी खैबर पख्तुनख्वा प्रान्तमा सुन्नी र शिया मुसलमानबीच भएका झडपमा पछिल्लो एक महिनामै एक सय ५० जनाभन्दा धेरैको ज्यान गएको छ, भने सरकारले दुवै पक्षलाई धार्मिक सहिष्णुता कायम गर्न आग्रह गरेको छ ।।