मेक्सिको भूकम्प: विद्यालयभित्र पुरिएका कैयौंको मृत्यु
Everest Fuji News२०७४ आश्विन ५ मा प्रकाशितPublished at 2017 Sep 21
मेक्सिकोमा ठूलो भूकम्पपछि हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।
भूकम्पका कारण २२० जना भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।
मंगलबारको भूकम्पपछि भत्किएको मेक्सिको सिटीको एक विद्यालयमा २१ जना केटाकेटीको र पाँच जना वयस्क व्यक्तिको ज्यान गएको अधिकारीहरुले बताएका छन्।
उद्धारकर्ताहरुको भनाइमा त्यो विद्यालयको भग्नावशेषमा अझै तीन जना जीवितै छन्।
भूकम्प प्रभावित क्षेत्रहरुमा अझै कैयौं व्यक्ति हराइरहेका छन्। भत्किएका संरचनाभित्र पुरिएका मानिसको खोज जारी छ।
पृथ्वीको माथिल्लो सतहमा गएको 'श्यालो' भूकम्प ७.१ म्याग्निच्युड्को रहेको बताइएको छ। जसका कारण मेक्सिको भरी २३० जनाको ज्यान गएको बताइएको छ।
भत्किएको एक विद्यालयबाट एक बालिकाको जीवितै उद्धार भएपछि भग्नावशेषभित्र जीवितै रहेका हुनसक्ने अन्य मानिसको खोजी कार्यलाई तीव्रता दिइएको छ।
भूकम्पका कारण कैयौं घर तथा गिर्जाघर भत्किएका छन्। राष्ट्रपतिले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
मेक्सिको भूकम्पको उच्च जोखिममा रहेको देश हो। त्यहाँ केही साता अघि ८.१ म्याग्निच्युडको भूकम्पपछि ९० जनाको ज्यान गएको थियो।