आफ्नै देशले भन्दा पहिले विदेशले चिनेर–चिनाएका एक पात्र हुन्— महावीर पुन । म्याग्दीको नागी पाखामा जन्मे–हुर्केका र चितवनको खैरनी माविबाट दोस्रो श्रेणीमा एसएलसी गरेका महावीरले पछिल्ला ३० वर्षमा जे–जति नाम—काम देखाए, त्यसको ‘पहिचान’ प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार पाएपछि मात्रै नेपाली समाजमा एकैचोटी छायो । यस बीचमा उनी म्याग्दी र पर्वतका गाउँघरमै कहिले विद्यालय शिक्षा, कहिले ग्रामीण पर्यटन त कहिले ताररहित सञ्चार योजनामा हराइरहे । अहिले महावीरलाई उनकै शब्दमा भन्ने हो भने ‘एकाएक बुद्धले ज्ञान पाएजस्तै’ भएको छ— खुद्रा—मसिना कामबाट टाढा बस्ने बरु राष्ट्रिय बृहत्तर अर्थको काममा लाग्ने । त्यही ज्ञानमा अडिएर राष्ट्रिय विकास र परिवर्तनका ठूला योजनामा जोडिँदै ४ वर्षअघि आविष्कार केन्द्र खोलेका महावीरले यो अभियानमा राज्य पद्धतिबाट सहयोग पाउन नसकेपछि मुख खोलेका छन् । निराश वा उदास भएर होइन कि अझ दृढ र प्रतिबद्ध भएर महावीरले भनेका छन्, ‘चिकित्सक डा.गोविन्द केसी मेरालागि गुरु बन्नुभएको छ, राष्ट्रिय हितको आफ्नो योजना र अभियान सफल बनाउन मैले पनि अनशनको उपायसम्म जानुपर्ने हुनसक्छ ।’ महावीरको यो अनशनको प्रण गुरुचेलाको सिको अथवा लहड—केन्द्रित छैन । उनी दूरसञ्चार संस्थानभित्रको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन संयन्त्रको ‘प्रभावहीन र अनुपयोगी’ व्यवस्थामा केन्द्रित भएर अनशनमा उत्रिन लागेका हुन् । ग्रामीण दूरसञ्चार विकास कोषमा थुप्रिएर बसेको १२ अर्ब रुपैयाँभन्दा बढीको मौजदातमाथि प्रश्न गर्दै महावीरले आफ्नो एजेन्डा तय गरेका छन् । ग्रामीण क्षेत्रमा सहज दूरसञ्चार र द्रुतगतिको इन्टरनेट प्रवाहका निम्ति काम गर्ने भनी गठन भएको कोष सधैंको मौजदातका रूपमा थन्किएर बसेको छ । आम नेपाली नागरिकले तिर्ने कर र अतिरिक्त शुल्कबाट बनेको कोषलाई कार्यकारी बनाउन एक दशकयता कुनै विधान तय हुन नसकेको अवस्थालाई आफ्नो एजेन्डामा तानेर अनशनसम्मको अन्तिम निर्णय बाहिर ल्याएका हुन् । दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्यको अकर्मण्यता र सञ्चारमन्त्री/सचिवको निर्णय (क्षमता) हीन यथास्थितिमाथि महावीरले बोल्न चाहेका छन् । हरेक पद्धतिमा रहेको अव्यवस्था र कुशासनबारे त्यही क्षेत्रका जानकारले केही नबोल्ने हो भने त्यो परिपाटीले स्थायी संयन्त्रको रूप लिनसक्नेमा महावीर चिन्तित भेटिन्छन् । ‘डा.गोविन्द केसी सरले स्वास्थ्य क्षेत्रमा कार्पेटमुनि लुकाइएको धुलो र बेथितिलाई एकपटक होइन, बारम्बार कोट्याएर देखाइरहनुभएको छ,’ महावीर भन्छन्, ‘मैले आफूले जाने—बुझेको सूचना–सञ्चार र यसको पद्धतिका बारेमा नबोल्ने हो भने कसले बोलिदिने ?’ यसकारण पनि डा.गोविन्द केसीलाई असल अभियानका अभियन्ता भन्दै महावीरले अनशनसम्मको प्रण गरेका हुन् । यो बीचमा महावीरले सञ्चार विकासका ऐन र दफामा पनि विषयगत (बुँदागत) जानकारी भेला गरिसकेका छन् । त्यसमा विषयगत अध्ययन र बुझबुझारथ गर्न भ्याएका रहेछन् । ‘दूरसञ्चार प्राधिकरणमा बोर्ड सदस्यहरूले उचित काम नगरेको अवस्थामा सञ्चारमन्त्रीले दफा २० अनुसार ‘दूरसञ्चारको विकास तथा विस्तार किन भएन ?’ भनी प्राधिकरण बोर्डसंँग स्पष्टीकरण माग्न सकिने व्यवस्था छ । यदि बोर्डबाट चित्तबुझ्दो स्पष्टीकरण नआएमा सञ्चारमन्त्रीले मन्त्रिपरिषद बैठकमा लगेर नेपाल प्राधिकरण बोर्डको सदस्यलाई हटाउन सक्ने प्रावधान छ,’ महावीर भन्छन्, ‘तर यो तहको आँट कुनै सञ्चारमन्त्रीले अहिलेसम्म गर्नसकेका छैनन् ।’ सञ्चार नीति २०६९ (संशोधन) द्वारा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गर्न गठन भएको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन संयन्त्रलाई पनि महावीरले अर्थहीन र निकम्मा देखेका छन् । यो संयन्त्रले कोषमा भएको पैसाको खर्च (उपयोग) गर्नेबारे मार्गदर्शन गर्नुपर्ने हो । तर अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, राष्ट्रिय योजना आयोग र दूरसञ्चार प्राधिकरणका ५ सदस्य सम्मिलित संयन्त्रको कार्यकारी तहको बैठक बस्न नसकेको स्थितिलाई पनि महावीरले आफ्नो विषयस्रोतमा औंल्याएका छन् । ‘दु:खको कुरा के छ भने यो संयन्त्रको बैठक कहिल्यै पनि बस्नै सकिरहेको हुँदैन, लगातार डेढ वर्षसम्म प्रयास गरेपछि बल्ल एकपटक बैठक बसेको थियो, तर त्यो बैठक पनि बस्नका लागि बसेको थियो, निर्णयहीन,’ उनले सुनाए, ‘बैठक गराउन मैले हत्ते गर्नाको कारण ग्रामीण दूरसञ्चार विकास कोषको पैसाले भूकम्प पीडित १४ जिल्लामा सूचना तथा प्रविधिको विकास गरौं भन्नेमात्रै थियो, तर कतै सुनवाइ भएन ।’ महावीर राष्ट्रिय योजना आयोगमा पनि पुगिरहन्छन् । आफ्ना योजना र सञ्चार विकास रणनीति सम्झाइ—बुझाइ गर्न प्रधानमन्त्री, मन्त्री, सचिवकहाँ पनि धाइरहन्छन् । राष्ट्रिय आविष्कार केन्द्रको तहबाट हुने अध्ययन/अनुसन्धान र उत्पादनको चरणमा महावीर यतिखेर आफैं होमिएका छन्— महादानको उपायबाट । तर राज्यले निर्धारण गरेको ग्रामीण दूरसञ्चार विकासको आफ्नै पद्धतिमा संयन्त्रले तोकेअनुसार काम किन भैरहेको छैन भनी उनी सबै तह–तप्काबाट आवाज उराल्ने निर्णयमा पुगेका छन् । ‘आफ्नो तर्फबाट वायरलेस सञ्चार पद्धति, ग्रामीण पर्यटन वा आत्मनिर्भर शिक्षाका परिपाटीमा जेजति गर्न सकिन्छ, गरिरहेकै छु,’ ग्रामीण विकास र सञ्चारको मौलिक पद्धतिमा प्रवचन दिन मंगलबार ताइवान जानुअघि महावीरले सुनाए, ‘अब नेपाली आम नागरिकमाझ एउटा आवाज उठाउनेछु, ‘सरकारले आफैं तय गरेको ग्रामीण दूरसञ्चार विकास कोषको १२ अर्ब रुपैयाँ कहाँ गयो ? त्यो पैसा मौजदातमै छ वा मन्त्री/सचिवबीच भागबन्डा भैसक्यो ?’ विकासका अभियन्ता महावीरले अबका ६ महिना यो जिज्ञासा सबैतिर फैलाउनेछन् । र त्यसपछि चिकित्सक डा.गोविन्द केसीलाई गुरु थाप्दै अनशनमा उत्रिने भएका छन् । आशा गरौं, त्योभन्दा अघि नै १२ अर्ब रुपैयाँको हिसाब–किताब आइसक्नेछ ।