युवराज घिमिरे
हाल पर्यटन र ‘अध्ययन’ को सिलसिलामा अमेरिकामा रहेका पूर्वमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सायद गम्भीर आत्मसमीक्षा र प्रायश्चितको चरणमा छन्। हिन्दु वर्णाश्रम मान्यता अनुसार वानप्रस्थको चरणमा पुगेका डा. भट्टराईले अब महात्मा बुद्ध, पृथ्वीनारायण शाह र बिपी कोइरालालाई आफ्नो आदर्श मानेका छन्।
वर्तमान र भावी आदर्शका प्रतीक या व्यक्तित्वको छनोट इमान्दार समीक्षा बिना सम्भव हुँदैन। आफ्नो सर्त र ‘राजनीतिक’ मान्यताका आधारमा अरुको ‘जीउने’ अधिकार खोस्ने ‘राजनीति’ का ‘आइडोलग’ ले बुद्ध, पृथ्वीनारायण शाह र बिपीलाई आदर्श मान्नु चानचुने कुरा हैन। तर, ती व्यक्तिहरु र उनीहरुबारे आम नेपाली जनताको मान्यता तथा बुझाइ के हो र त्यो बुझाइसँग विद्वान डा. भट्टराईको बुझाइ कति नजिक र टाढा छ, त्यसबारे आउने दिनमा उनले स्पष्ट पार्नुपर्ने हुन्छ।
बुद्ध दर्शनले व्यक्तिको सम्मानित जीवनको अधिकारलाई सम्मान गर्ने मात्र हैन, ऊ राज्य या समाजका शक्तिशाली व्यक्ति र समूहको हिंसाको डर बिना आफ्नो जीवन सञ्चालनमा स्वतन्त्र हुन्छ। राज्य र समाजमा हिंसा बर्जित हुन्छ, वाणी, व्यवहार र प्रतिक्रियामा।
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल राज्य संगठित अस्तित्वमा आएको हो चार वर्ण ३६ जातको साझा फूलबारीका रुपमा। उनले कल्पना गरेको मुलुकमा ‘घुस लिन्या र दिन्या’ समान दोषी मानिने, नेपाल ‘राजा र रैती’ को साझा मुलुक हुने र बाह्य रुपमा त्यो दुई ढुंगाबीचको तरुलरुपी देशको संवेदनशील अस्तित्व सुरक्षित राख्न उत्तर र दक्षिणसँग विवेकसम्मत सन्तुलनको नीति अपनाउनुपर्ने मान्यता अघि सारेका थिए उनले।
बिपी कोइरालाले प्रजातान्त्रिक समाजवादका लागि विद्यार्थी जीवनदेखि नेपालको प्रधानमन्त्री, पछि भारतमा निर्वासित नेताका रुपमा अनेक प्रयोग, शैली र सिद्धान्त अघि सारे। तर, सिक्किमको भारतमा विलयपछि स्वदेश फर्कने क्रममा उनले अघि सारेको ‘राष्ट्रिय मेलमिलाप’को नीति अर्थात संवैधानिक राजतन्त्र र प्रजातान्त्रिक शक्तिबीचको सहकार्यलाई राजनीतिक प्रयोगयुक्त उनको सर्वाधिक साहसिक र दूरदर्शिता सिद्धान्त तथा प्रयोग मानिन्छ।
