क्याण्टिलिभरको कमाल : जोडियो उत्तरी गोर्खा

Everest Fuji News २०७३ माघ १९ मा प्रकाशित       Published at 2017 Feb 01


महाभूकम्पले गोरेटो भत्किएपछि एक वर्षसम्म विच्छेद भएको उत्तरी गोरखा बूढीगण्डकीमा 'क्यान्टिलिभर' बनेपछि बाँकी नेपालसँग जोडिएको छ।बूढीगण्डकी किनारमा बनेको क्यान्टिलिभर। तस्वीरहरुः ए–एफ इटेको/सामर्थ १२ वैशाख २०७२ को महाभूकम्पसँगै बढेको पानीको बहावले बूढीगण्डकी नदी तीरैतीर माथिल्लो गोरखा पुग्ने गोरेटोलाई सर्लक्कै बगायो। गोरेटो मासिएपछि उत्तरी गोरखाका आठ गाविसको तल्लो भेगसँग सम्पर्क विच्छेद भयो। सामान ढुवानी र मनास्लु सर्किटको पदयात्रामा पनि विराम लाग्यो। बूढीगण्डकी खोंचको ठाडो चट्टाने भीरमा इन्जिनियरहरूले 'क्यान्टिलिभर' प्रविधिबाट बाटो बनाएका छन्। यारु बगरमा चुम उपत्यका र लार्के ला जोड्ने १९५ मिटर लामो फलामे बाटो निर्माण भएपछि मानिस र मालसामान बोकेका खच्चड सहजै ओहोरदोहोर गरिरहेका छन्। चुम उपत्यकामा पनि अर्को 'क्यान्टिलिभर' बन्दैछ। तिब्बतसँग जोडिएको नेपालको सुन्दर चुम उपत्यकामा पनि भूकम्पले सबै बाटोघाटो भत्काएको थियो। IMG_5154उत्तरी गोरखालाई जोड्ने बाटो बनेपछि मनास्लु सर्किटका पदयात्री र चुम उपत्यकामा पर्यटक आउन थालेका छन्। यारु बगर भूकम्पको केन्द्रविन्दु लाप्राकबाट पाँच किलोमिटरको दूरीमा छ। भूकम्पले ल्याएको पहिरोहरूले बूढीगण्डकीमा पानीको सतह बढेर गोरेटो बगेपछिको एक वर्षसम्म उत्तरी गोरखाका करीब आठ हजार बासिन्दाको लागि खाद्यान्नलगायतका मालसामान ओसार्ने एक मात्र साधन हेलिकप्टर बन्यो। ढुवानी भाडाका कारण मालसामान एकदमै महँगो भएको थियो। IMG_5155यारुबगरमा बनेको १९५ मिटर लामो क्यान्टिलिभर गोरेटो। 'क्यान्टिलिभर' निर्माणमा बेलायती सहयोग नियोग 'डीएफआईडी' ले सहयोग गरेको छ। 'क्यान्टिलिभर' को संरचना स्वीस कम्पनी 'ए–एफ इटेको' र काठमाडौंको बालाजुस्थित यन्त्रशालाले तयार पारेको हो। चट्टाने भीरमा बाटो बनाउने विभिन्न विकल्पमा छलफलपछि इन्जिनियरहरूले 'क्यान्टिलिभर' उपयुक्त हुने ठहर गरेका थिए। पहाडको जीविकोपार्जनमा पैदल बाटो महत्ववपूर्ण हुने बताउँदै डीएफआईडी, नेपालका प्रमुख गेल मर्जेट्टी भन्छन्, “त्यसका लागि रोजिएको 'क्यान्टिलिभर' मा हामी समुदायलाई थप सहयोग गर्न चाहन्छौं।” IMG_5158चट्टानमा 'ड्रिल' गर्नका लागि स्थानीय कामदारहरू 'रक क्लाइम्बिङ' को अभ्यास गर्दै। ठाडो भीरमा 'क्यान्टिलिभर' बनाउँदा डोरीमा झुण्डिएर चट्टानमा 'ड्रिल' गर्नुपर्ने भएकाले कामदारहरूले 'रक क्लाइम्बिङ' को सीप सिक्नु परेको थियो। ४०० जना स्थानीय कामदारले दुई महीनामा सकेको यो परियोजनामा रु.३ करोड ८० लाख खर्च भएको छ। बनिसक्दा नसक्दै 'क्यान्टिलिभर' लाई स्कूले केटाकेटी, खच्चड र पदयात्रीहरूको ओहोरदोहोरले व्यस्त बनाइहाल्यो। उत्तरी गोरखा जोड्ने 'क्यान्टिलिभर' बनेपछि मनास्लु सर्किट र चुम उपत्यकामा पर्यटक आउन थालेका छन्। IMG_5157'क्यान्टिलिभर' मा स्टीलका पाता कस्दै । यारु बगरमा यस्तो बाटो बनाएको टोली अहिले चुम उपत्यकामा व्यस्त छ। यो प्रविधिमा काम गर्दागर्दै नेपालमा पर्याप्त दक्ष जनशक्ति तयार भएको र अन्य स्थानमा 'क्यान्टिलिभर' बनाउन आफूहरू उत्सुक रहेको 'ए–एफ इटेको' का परियोजना प्रबन्धक विष्णु शाह बताउँछन्। उनका अनुसार, 'क्यान्टिलिभर' उखेलेर यसको ८० प्रतिशत सामग्री अर्को स्थानमा प्रयोग गर्न सकिन्छ। दुर्गम पहाड र हिमालका खोंचमा यो प्रविधि निकै उपयुक्त हुने देखिएको छ। IMG_5159स्यारखोलामा निर्माण सम्पन्न हुनै लागेको क्यान्टिलिभर । IMG_5156


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.