वर्षौंदेखि अँध्यारोमा छामछाम, छुमछुम गरेर जीविका चलाइरहेका हामीहरूको लागि सूर्यको किरणबाहेक अरु ठाउँबाट उज्यालो आउँदैन होला जस्तो लाग्थ्यो । यो यथार्थ हो । टुकी बालेर होमवर्क गरिरहेका ससाना बालबच्चाहरूले लाइन आयो भन्दै ताली बजाउँथे मानौँ कि लाइनले हामीलाई सानैमा टुहुराटुहुरी बनाएर छाडेको थियो । र हामीले लाइनको १३ दिने काजकिरिया सम्पन्न गरेका थियौँ ।
एक समय लेनिनले उत्साहित हुँदै भनेका थिए,‘उज्यालोमा मर्नुभन्दा अँध्यारोमा बाँच्नु सबैभन्दा खतरनाक हुन्छ । यो देशको स्थति देखेर कहिलेकाहीँ त यस्तो लाग्छ कि एउटा सुसाइड नोट लेखेर आत्महत्या गरूँ । किनभने खतरनाक जीवन बाँच्दा भोलि जे पनि हुन सक्छ । भोलि म बाँचेको युगको हुर्मत काढिन सक्छ । भोलि मैले साँचेको सपनाहरूको पुत्ला दहन पनि हुन सक्छ । भोलि मेरो १२ औँ शताब्दीको सर्वस्व हरण हुन सक्छ ।
उज्यालोको पीडा
मध्यरातमा काठमाडौं विमानस्थलमा अवतरण प्रयास गर्दै गरेका विमान चालकहरूले के सोच्दा हुन् ? सामान्य जीजिविषाको खातिर मजदुरी गरेर फर्केको कुल्लिले पनि सोच्दो हो ‘कहाँ छ मेरो मुलुकको सहर ? मानिसहरूको दिमागमा राजधानी भन्नेबित्तिकै समान्यतया झिलिमिलिको कल्पना हुन्छ । चोक, गल्ली र घुम्टतीरू सहजै नियाल्न सकिने उज्यालोको कल्पना हुन्छ । बिडम्बना ! हिजोसम्म काठमाडांै राउटे मुखिया दानबहादुर शाहीको ओडारजस्तो अँध्यारो थियो ।
जगतको उज्यालो, जीवनको उज्यालो ।पृथ्वीको उज्यालो, सानो झुपडीभित्रको उज्यालो, यस्तै, यस्तै । चाँदीको घेरा अलिकति चम्किएको मात्रै के थियो, अचम्मै भयो । तपाईं मान्नुहोस् या नमान्नुहोस्, उज्यालोका कारणले अधिकांश मानिसहरूको अनुहारमा एक्कासि अँध्यारो पर्दारोपण भएको छ । तिनको हृदयमा कहिल्यै नमेटिने गरी गहिरो चोट परेको छ । बाँच्नुको अर्थ हराएको छ । मानौँ कि उनीहरू उज्यालोको पीडा सहन नसकेर मर्न चाहन्छन् ।
हुन त चोरहरूलाई अक्सर अँध्यारो नै मन पर्छ । लुटेरा, ठगहरूलाई अँध्यारो मनपर्छ । दलालहरूलाई अँध्यारो मन पर्छ । समग्रमा यसो भन्न सकिन्छ कि अपराधहरू अँध्यारोकै सहयोगमा गरिन्छन् । जस्तो कि, इन्भर्टरको व्यापार फस्टाउन अँध्यारो चाहिन्छ । सोलार व्यापारीबाट कमिसन उपलब्ध हुन अँध्यारो चाहिन्छ । नागरिकहरूको आँखामा खरानी हानेर काला व्यापारीहरूको कारखाना २४ घण्टा चलाउनको लागि समेत अँध्यारो नै चाहिन्छ ।
वास्तवमा अँध्यारोको महत्व धेरै रहेछ । उखान टुक्का र चुट्किलाहरू पनि अँध्यारोकै बलमा उब्जिएका हुन् । जगतैभरि उज्यालो भएको भए जनतालाई खिस्सीगरेर हाँसिमजाक गर्ने हिम्मत, आँट कसैको मगजमा जन्मिने थिएन । मिठा सपनाहरू पूरा हुने विश्वासमा मैनबत्तीहरूमात्रै होइन, मानिसहरू पनि जले । रुनको लागि आँखा मात्र होइन, आँशु पनि चाहिने रहेछ । बिजुलीका लागि नदीनाला मात्र होइन, भिजिनरी व्यक्ति पनि चाहिने रहेछ ।
तर, सतिले सरापेको भनिने यो मुलुकमा सेता सेता पहिरनमा, काला काला कुकर्महरू हुँदैगयो ।
विद्युत् प्राधिकरणका कर्मचारी अब उप्रान्त राष्ट्रसेवक कर्मचारी रहेनन्, ती बिजुली चोर भए । एकजना कर्मचारीको गल्ति कमजोरी भएको भए अपवाद हुन्थ्यो, यहाँ त सिंगो प्राधिकरणको प्रवृत्ति नै फटाहा देखियो । किनभने राष्ट्रलाई दशकौंदेखि अरबौं घाटा हुने कदम यतिका लामो समयसम्म गुपचुप रहिरहन सक्दैन, जहाँ मिलेमतो, लेनदेन हँुदैन । मिटर रिडिङ गर्ने तल्लो तहका कर्मचारीदेखि नीति निर्माणको तहसम्म गम्भिर ‘राष्ट्रघात’ भएको देखिन्छ ।
कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि ठूलै हल्लाखल्ला मच्चियो । दिनको १२ घण्टा र त्यो भन्दा बढी लोडसेडिङको भार उपभोक्ताले सहनुपरेको थियो । यसको सोझो अर्थ हुन्छ नेपालमा विद्युत् सेवा नै थिएन । तर, कुलमान घिसिङले भरोसा दिलाए । नेपालमा विद्युुत् सेवा जिवितै छ भनेर महसुस हुनेगरी काम गरे । असहज र कठिन परिस्थितिका बाबजुद पनि उनले इमान्दारिताका साथ गरेको काम के हो भने– व्यवस्थापन ।
कुलमानको व्यवस्थापन उनकै तजबिजमा चलेको थियो । तर, कुलमानलाई असफल बनाउनका लागि केही मिडिया, केही दलका नेताहरू र खासगरी प्रचण्ड सरकारलाई मन नपराउने व्यक्तिहरू कम्मर कसेर लागेका थिए । उनीहरूको साथमा थिए– इन्भर्टर,सोलार र डिजेलका काला व्यापारीहरू । हावाबाट बिजुली निस्किँदै थियो, घामबाट बिजुली उत्पादन हँुदै थियो, आलुबाट बिजुली उत्पादन हुँदै थियो । तर कुलमानले खोलाबाट बिजुली निकाले ।
खोलाबाटै बिजुली निकालेको थाहा पाएपछि एकजना एमाले निकट पत्रकारले लोकवासीलाई कडा प्रश्न गरे– ‘कुलमान गयो । खोला सुक्यो कि क्या हो ?’ यस्तो प्रश्न स्वभाविक हुनुका पछाडि २ वटा प्रमुख कारण थियो । एउटा,केही मिडियाहरूले मंसिरको दोस्रो हप्तादेखि लोडसेडिङ हुने ग्यारेन्टी गरेका थिए । ठोकुवा नै गरेका थिए । त्यसको प्रभाव तिनलाई परेकै थियो । अर्को प्राविधिक समस्याका कारण लाइन जान सक्छ भन्ने कुरा बुझ पचाएरै उनी चोखो चोर बन्नुपरेको थियो ।
चोखो चोर नबनेसम्म विद्युत् प्राधिकरणको तल्लो तहको कर्मचारीले माहिनावारी तलबकै भरमा काठमाडौं र विराटनगमा अग्ला महल ठड्याउन सक्दैन । हाल केही चोरहरू प्रमाणसहित पक्राउ परेका छन् । तिनले स्विकार पनि गरेका छन् कि कसको घरमा मिटर उल्टो घुम्ने बनायौँ, त्यो बिर्सिसक्यौँ । तर कोहीले दश हजार दिन्थे, कोहीले त्योभन्दा बढी ।’ अनुसन्धानबाट खुलेको छ ती दश हजार दिनेहरूको मिटरबाट कम्तिमा ६० हजार देखि १ लाखसम्म बिल उठ्नुपथ्र्याे ।
सामजिक सञ्जालमा, मिडियामा लोडसेडिङ अन्त्य भएको सन्दर्भमा खासै ठूलो सफलताको रूपमा लिइएको देखिँदैन । मिडियाहरू हिजोसम्म आफैँले ब्याट्री र जेनेरेटर प्रयोग गरेर समाचारहरू प्रकाशन, प्रशारण गर्नुपथ्र्याे । अहिले त बिजुली काफी भएको छ । बिजुली काफी हुनु भनेको पैसा काफी हुनु रहेनछ । काला व्यापारीहरूको जस्तो पैसा एकमुष्ठ रूपमा विद्युत् प्राधिकरणमार्फत आउने कुरा पनि असम्भव भयो । अनि यिनलाई खप्नै नसकिने पीडा भयो ।
हिजोआज १० मिनेटबिजुली निभ्दा के के न भए जस्तो हल्लाखल्ला हुन्छ सामाजिक सञ्जालमा । मानौँ कि बिजुली बलिरहनु भनेको प्रचण्ड सरकार सफल हुनु हो । हाँसो लाग्छ । प्रचण्ड ‘नेतृत्व’ हुन् । ऊर्जामन्त्री प्रभाकर पनि खासै केही ठूला होइनन् । कुलमान नै सबैथोक हुन्, काठमाडौंलाई उज्यालो दिने सन्दर्भमा । तर ती बाठा मानिसहरूलाई अवगत छ, कुलमानलाई अयोग्य ठहर गरेर बर्खास्त गर्नेहरूहामी इतरका हौँ, हामी चोर हाँै ।
जंगली जनार्दन
जंगलमा काँडामात्र हुँदैनन्, फूल पनि हुन्छन् । जंगलमा तितेपाती मात्र फूल्दैनन्, लालिगुराँस पनि फुल्छन् । जंगलमा विषमात्र उमिँ्रदैन, पाँचअम्ले अमृत पनि उम्रिन्छ । जंगलमा डरलाग्दो सर्प मात्र घिर्सिंदैन, रोगको दबाइ हुने चिप्ले किरा पनि घिर्सिन्छ । जंगलमा अफ्ठ्यारो बाटो मात्र भेटिँदैन, सजिला पदचाप पनि भेटिन्छन् । जंगलमा चितुवामात्र भाग्दैनन्, मृगका शावकहरू पनि भाग्छन् । जंगलमा आतंककारीमात्र लुक्दैनन्, परिवर्तनकारी पनि लुक्छन् ।
एउटा आतंककारी जनार्दन शर्मा ‘प्रभाकर’ जो थियो । ऊ हमेसा जंगलमा बस्थ्यो, जंगलमा सुत्थ्यो, जंगलमा खान्थ्यो, जंगलमा भन्न त उसलाई परिवर्तनकारी कमरेड भन्नेहरू पनि थिए । जे थियो उसको संसार केवल जंगल थियो । त्यसैले ऊ र उनिहरूलाई कतिपय मानिसहरू आतंककारी र जंगली भन्थे । च्यापुदेखि गालासम्म झुस्स दारी पालेको र महिनाँैसम्म शरीरमा कपडा नफेरेको परिवर्तनकारीलाई जंगलीको उपमा उचित थिएन ।
खैर, जे होस्, जनार्दन फुत्त निस्कियो जंगलबाट । जंगलबाट निस्केर ऊकाठमाडांै आयो । काठमाडौं जंगल होइन तर काँडाहरू मात्रै थिए । काठमाडांै जंगल होइन तर तितेपाती मात्र फुलेका थिए । काठमाडांै जंगल होइन तर डरलाग्दा सर्पहरू घिर्सिन्थे । काठमाडौं जंगल होइन तर अफ्ठ्यारो बाटो मात्र भेटिन्थ्यो । काठमाडौं जंगल होइन तर घरभित्र चितुवा पस्थ्यो । काठमाडौं जंगल होइन तर आतंककारी मात्रै भेटिन्थे । जनार्दन दंग खायो ।
बितेका दर्जन वर्षहरूमा दंग खाँदै, खाँदै कहिले जाग्दै कहिले मर्दै जनार्दनहरूको जंगल बहिर्गमनको यात्रा अन्तिम काल खण्डमा गुज्रिरहेको छ । यो परीक्षणकालमा जनार्दनहरू उत्तीर्ण हुन सकेनन् भने चोक र गल्लीहरूमा पक्कै पिण्ड अर्पणको तयारी हुनेछ । किनभने महान तथा गौरवशाली डायरीका पानाहरूमा सिंगापुर र स्विजरल्याण्डको सपना कोरिएको थियो । बच्चाहरूको होमवर्क थिएन त्यो । यसकारण लोकवासीलाई देखाइदिने प्रेसर छ जनार्दनहरूलाई ।
आजकल दोकानहरूमा मैनबत्तीको व्यापार ह्वात्तै घटेको छ । मैनबत्ती एकदमै महँगो भएको कारणले होइन । लालटिन बल्दैन । जेनेटर व्यापारी टाट पल्टिएका छन् । फलस्वरुप धुलिखेलबाट हेर्दा काठमाडौंसहर सिड्नीजस्तो देखिन्छ । पहिले त जंगलजस्तो थियो । धनीमनि र बिजुली चोरहरू उज्यालोमा थिए । अरू भूइँ मान्छेहरू थिए, जो दिनभरि भित्ता हेरिरहन्थे । मानौँ कि प्रेमिकाको तस्बिर र लोडसेडिङ समय तालिका उस्तै थियो ।
अचानक के जादु भयो ? टुनामुना पो भयो कि ? आखिरिमा के भयो यस्तो पूरै लाज लुकाउने गरी लाजधानी झिलिमिलि ? लाउकेहरू, पातकीहरू, कमिसनखोरहरू धुन्धुकारीहरू, दलालहरू, चोरहरू, ठगहरू, लुटेराहरू, काला व्यापारीहरू र ठेकेदारहरू एकाएक सलबलाउन थाले । यतिसम्म कि जेनेरेटर चलाएर पत्रिका छापिरहेका पत्रकारहरू समेत भद्दा डाँको छाडेर अनेकाँै डंका पिटानको क्रमसंख्या सिर्जना गर्न थाले । मंसिरको दोश्रो हप्तादेखि लोडसेडिङ पक्का हुन्छ भनेर ग्यारेन्टी दिनथाले ।
तर ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर आफ्नै लयमा थिए । बदलिएको भूमिका र परिवेशमा यी मनुष्यले आफूलाई अभ्यस्त गराउने चेष्टा गरेको दशक भयो । यिनी इख लिएर काम गर्छन् । साहसी, निडर र जुझारु पनि छन् । यद्यपि पंक्तिकारले जनार्दनलाई पगरी गुथाउन यो स्टोरी तयार गरेको होइन । नभन्दै काट्यो, पूर्वश्री ५ निवासको बिजुली र थुप्रै एलटीहरूको आवासको उज्यालोलाई छिन्नभिन्न बनायो ।
उज्यालोमा मर्न पाइयोस्
हरेक स्वाभिमानी र अध्ययनशिलनागरिकको मनमा एउटा कुरा प्रायः खेल्छ नै । त्यो हो– आफू जन्मिएको, नागरिकता लिएको मातृभूमि विश्वका अन्य सुविधा सम्पन्न राष्ट्रहरू जस्तै खुसी देखियोस् । साना अभाव र पीडाहरूले ठूला उन्नति र विकासका चरणहरू अवरोध नहुन् । राज्यको अंङ्ग व्यवस्था चलाउन विदेशीको आर्थिक, भौतिक सहयोग लिन नपरोस्, बरु बाँड्न पुगोस् । गरिबको उपचार गर्ने अस्पताल होस्, बिजुली होस्, रोजगार होस्, सफा सहर होस् ।’ यस्तै–यस्तै ।
‘सतीले सरापेको देश’ भन्ने वाक्यलाई विश्वास गरेपनिनगरेपनि केही न केही जालझेल,षड्यन्त्र भएकै छ हाम्रो प्रगतिलाई रोक्न । हामीलाई गरिबबाट झन् गरिब बनाउन, हाम्रो भोको पेटहरूलाई झन् धेरै भोक थुपार्न, हाम्रा असीमित अभावहरूलाई झन् ठूलो अभाव सिर्जना गर्न, हाम्रा नाङ्गो शरीरहरूको झन् धेरै बदनाम गर्न कहीँ न कहीँ गडबड त भएकै छ । भ्रष्टाचारमा हाम्रो मुलुक कति नम्बरमा आउँछ ? त्यो थाहा पाउन कुनै संस्थाको प्रतिवेदन आवश्यक छैन ।
काल्पनिक अँध्यारो सिर्जना गरेर कसरी लुटिँदो रहेछ देशको अस्मिता ? लोकवासीलाई थाहा भैसक्यो ।
मुलुकमा अँध्यारो जो थियो, यसो हुनुको कारण बाटोमा हिँड्ने भुस्याहा कुकुरलाई पनि थाहा भयो । चोरहरू पक्राउ परिरहेका छन् । चोरहरूको जालोलाई भताभुङ्ग गराउन सयौँ कर्मचारीहरू सरुवा भएका छन् । चोरहरूलाई यसरी सरुवा गर्दा कम्तिमा तिनले कहाँ कुन र कसको कलकारखाना वा घरमा मिटर रिडिङ उल्टो बनाएर कमिसन खाने भन्ने चालबाजी हत्तपत्त अन्दाज लगाउन सक्ने छैनन् । समातिएका चोरलाई कडाभन्दा कडा कारबाही गर्न सके बहालवाला चोरलाई दबाब हुन्छ ।
यी निजामति चोरहरूलाई न हेलिकप्टरबाट खसालेर निर्मम ढङ्गले मार्न सकिन्छ । न यिनलाई ज्यूँदै भोकाएका तालिम प्राप्त कुकुरलाई खान दिन सकिन्छ । न यिनलाई चन्द्रागिरिको डाँडोमा खडा गरेर क्रमशः गोली हान्न सकिन्छ । न यिनलाई फाँसीको डोरीमा लट्काउन सकिन्छ । न यिनको ढाडमा असंख्य कोर्रा हान्न सकिन्छ । न यिनको हातखुट्टा काटेर फालिदिन सकिन्छ । किनभने यो डेमोक्रेसीको देश हो । चोरहरूको पनि देश हो ।
तर, हरेक नेपाली नागरिक उज्यालोमा मर्न पाइयोस् । यसका निम्ति सरकार जुनसुकै पार्टीको भएपनि राज्य व्यवस्थामा एकरूपता हुनुपर्दछ । राष्ट्रसेवकको नाममा मुलुकका प्रति, सरकारी सम्पत्तिका प्रति गिद्दे नजर लगाउनेहरूलाई कडा भन्दा कडा कारबाही गरिनुपर्दछ । राजनीतिक स्वार्थ भन्दा माथि उठ्नका लागि होचा चेतनाहरू अग्लिनुपर्दछ । मुलुकलाई समुन्नत दिशामा अगाडि बढाउनको लागि कमिशनखोरहरूको सामाजिक ‘सफाया’ हुनुपर्दछ ।
भएको चिजलाई सहीरूपमा प्रयोग गर्न नसक्दा वा समान रूपमा वितरण गर्न नसक्दा हामीले दुःख पाइरहेका रहेछौ भन्ने कुरा पक्का भइसकेको छ । जुनसुकै वाद र प्रवृत्तिले पनि यो पक्का भइसकेको कुरा बदल्न सक्दैन । मतलब अब लोडसेडिङ समय तालिका बदलिँदैन । बदलियो भने त्यसको मूल्य चुकाउन मुस्किल हुनेछ । उज्यालोमा बाँच्ने र उज्यालोमै मर्ने हरेक नेपाली नागरिकको चाहनालाई अब सकैले पनि रोक्न नसकोस् ।