राजा वीरेन्द्र मुसुक्क हाँसे ।
किन ?
‘रारा चाउचाउको लगानीकर्ता को हुन् भनेर राजा वीरेन्द्रल सोधे,’ रारा चाउचाउ उत्पादन गर्ने गण्डकी नुडल्स प्रालि संस्थापक प्रबन्ध निर्देशक कृष्ण आचार्यले उत्तर दिए, ‘सरकार, गोर्खाली सबै हुन् ।’ गण्डकी नुडल्स प्रालि संस्थापक प्रबन्ध निर्देशक आचार्यको उत्तर सुनेर राजा वीरेन्द्र हाँसे । रानी ऐश्वर्याले कुरा बुझिनन् । राजाले अंग्रेजी भाषामा रानीलाई वास्तविताका सुनाएपछि हाँसो गुञ्जियो ।
राजा वीरेन्द्र र रानी ऐश्वर्या औद्योगिक मेला हेर्न काठमाडौंको भृकुटीमण्डप पुगेका थिए । औद्योगिक मेलामा रारा चाउचाउ पनि राखिएको थियो । राजाले चाउचाउ ध्यानपूर्वक हेरे । यो २०४२ को कुरा हो ।
राजा वीरेन्द्र फेरि हाँसे ।
किन ?
‘राजाले उद्योग चलाउन केही समस्या छ कि भनेर मलाई सोधे । नेपाली लगानीकर्ताको प्रयासमा नेपालमै उत्पादित भए पनि रारा चाउचाउमाथि अन्तःशुल्क लगाइएको छ,’ आचार्यले सुनाए, ‘राजाले छुटका लागि हारगुहार मागेनौँ भनेर सोधे । मैले पटक/पटक सरकारसमक्ष निवेदन गरे पनि पशुपतिनाथमा फूल चढाएजस्तो भयो सरकार भन्दा उनी दोस्रोपटक हाँसे ।’
राजाले औद्योगिक मेलामै आफ्ना निजी सचिवलाई आचार्यको निवेदन दिँदै अन्तःशुल्क हटाउन निर्देशन दिए । राजाको हातमै निवेदन थमाएको भोलिपल्ट ५० प्रतिशत अन्तःशुल्क छुटसहितको पत्र आचार्यको हात पर्यो । रारा चाउचाउको सन्दर्भमा वीरेन्द्रले हाँसेजस्तो आचार्यले हाँस्न नसके पनि राहत महसुस गरे ।
औद्योगिक मेला हेर्न राजा वीरेन्द्र पोखरासमेत पुगे । राजासँग आचार्यको फेरि भेट भयो । राजाले गण्डकी नुडल्स प्रालि अवलोकन गर्दै सोधे, ‘मैले सहयोग गर्नुपर्छ कि ?’ खुसी हुँदै आचार्यले बिन्ति बिसाए, ‘सरकार प्रहरी र सेनालाई सातामा एकपटक चाउचाउको स्वाद चखाउने प्रबन्ध मिलाइए उद्योग सञ्चालनका लागि सघाउन पुग्ने थियो ।’ राजा केही बोलेनन् ।
भारतभन्दा नेपालमा पहिले चाउचाउ
भारतभन्दा नेपालमा पहिले चाउचाउ उत्पादन भएको थियो । गण्डकी नुडल्स प्रालिले रारा चाउचाउ बजारमा ल्याएको ६ महिनापछि मात्रै भारतको पन्जावबाट म्यागी चाउचाउ उत्पादन भएको हो । संवत् २०३९ माघ २३ गते नेपालमा पहिलोपटक रारा चाउचाउ उत्पादन भएको थियो । बजारमा आएको चाउचाउको स्वाद जति मीठो थियो उत्पादनमा लागिपरेकाको चाउचाउ संघर्ष अत्यन्तै तीतो । तर पनि चाउचाउ उत्पादनमा लागेकाले हरेस खाएनन् । दुःखको पापड बेल्दैबेल्दै चाउचाउ उत्पादन गरिछाडे ।
चाउचाउमा बेलायती सेना अत्यधिक
चारजनाको साझेदारीमा थालिएको चाउचाउ उत्पादनमा लगानी धान्न नसक्ने भएपछि इच्छुकलाई लगानी आह्वान गरिएको थियो । १० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म लगानी गर्न मेजर पूर्णबहादुर गुरुङ, विश्वरत्न श्रेष्ठ, जगतमोहन गौचन, सूर्यबहादुर केसीलगायत झन्डै १ सयजना लगानीकर्ता तयार भए ।
गण्डकी नुडल्स प्रालि अध्यक्ष फणीन्द्रमान श्रेष्ठ थिए । श्रेष्ठ अवकाशप्राप्त बेलायती सेना हुन् । उनले विदेशमा रहँदा चाउचाउको स्वाद चाखिसकेका थिए । त्यसैले चाउचाउ उद्योगमा लगानी गर्न राजी भए । लगानी गर्न उनीजस्तै बेलायती सेनाबाट अवकाशप्राप्तको घुइँचो लाग्यो ।
राजा वीरेन्द्रबाटै हुकुम
लगानीकर्ता भेटिए पनि चाउचाउ उद्योग सञ्चालन अनुमतिका लागि सरकार सकारात्मक देखिएन । कृष्ण आचार्य उद्योग सञ्चालनका लागि औद्योगिक सेवा केन्द्र डिजी अजितनारायणसिंह थापालाई अनुरोध गरे । तर, सकारात्मक देखिएनन् । आचार्यले उदाहरण पेस गर्दै डिजी थापालाई सुझाए, ‘काठमाडौंका कुनै पनि रेष्टुरेन्टमा दैनिक १० प्लेट चाउमिन बिक्री भएन भने म उद्योग चलाउँदिन ।’
त्यति भनेपछि डिजी सकारात्मक देखिए । नभन्दै औद्योगिक सेवा केन्द्रका एक कर्मचारीसँगै आचार्य काठमाडौँको न्युरोडमा रहेको एक रेष्टुरेन्ट पुगे । त्यहाँ एक घन्टामा १४ प्लेट चाउमिन बिक्री भयो । त्यही कुरा सुनाएपछि डिजीले आचार्यलाई महिना दिनपछि उद्योग सञ्चालनका लागि पोखरा होइन काठमाडौँका लागि अनुमति दिए । परेन फसाद । यही समस्या राख्दा राजा वीरेन्द्रले ०३५ मा पोखरामै उद्योग सञ्चालनका लागि अनुमति दिए ।
लगानीकर्ता जम्मा भए । उद्योग सञ्चालनका लागि अनुमति पनि पाइयो । चाउचाउ उत्पादनका लागि उपकरण चाहियो । नेसनल ट्रेडिङले चीनबाट ल्याएको उपकरण खरिद गरियो । १२ हजार रुपैयाँ परेको उपकरण सानो थियो । ‘सानो उपकरणले थोरै चाउचाउ उत्पादन गथ्र्यो,’ आचार्यले अतीत सम्झे, ‘चाउचाउ उत्पादन गर्ने उपकरण जापानमा पाइन्छ भन्ने थाहा पाएँ । ठूलो मात्रामा चाउचाउ उत्पादन गर्ने सोचसहित ३५ लाख रुपैयाँमा जापानबाट उपकरण खरिद गर्यौँ ।’
जापानबाट उपकरण ल्याउन त्यत्तिकै समस्या पर्यो । सो उपकरण भारतको कलकत्तामा महिना दिन रोकियो । उपकरण रोकिएपछि आधाउधी लगानीकर्ताले लगानी फिर्ता लिए भने लगानी गर्न इच्छुक छु भन्नेहरू पनि सकारात्मक देखिएनन् ।
‘नु’ ‘नि’ हुँदा विशेष प्रहरीमा उजुरी
त्यसो भएपछि उद्योग सञ्चालनका लागि उद्योग विभागमा ३५ लाख नेपाली रुपैयाँबराकरेको अमेरिकी डलर ऋण सहयोग माग गर्यौँ । ‘महिना दिन बित्दा पनि फाइल अघि बढेन,’ उनले अर्को आपत सुनाए, ‘त्यसपछि विभाग निर्देशक जीवनलाल सत्याल भेट्ने प्रयास गरेँ । विभाग धाउन थालेको १० दिनपछि सत्यालसँग भेट भयो । सत्यालले आश्चर्य मान्दै सोधे– जाबो निडल्स (सियो) उद्योग सञ्चालनका लागि ३५ लाख रुपैयाँ किन चाहियो ?’
अनि थाहा भयो ‘नुडल्स’ हुनुपर्नेमा ‘निडल्स’ उल्लेख भएछ । त्यही शंकामा विशेष प्रहरीले उद्योग विभागबाट गण्डकी नुडल्स प्रालिको सबै फाइल अनुसन्धानका लागि लगेको रहेछ । उद्योग विभाग निर्देशक सत्यालको पहलमा समस्या सल्टियो ।
चाउचाउको विज्ञापन बनाउन भारतकै शरण
रारा चाउचाउ उत्पादन भएको ६ महिनापछि भारतले म्यागी चाउचाउ बजारमा ल्यायो । उसले नेपालमा समेत बजार विस्तार गर्न म्यागी चाउचाउ पठायो । म्यागीको १० वटा खाली खोल (कभर) संकलन गर्नेलाई एउटा बल उपहारस्वरूप दिने गरिन्थ्यो ।
पूर्वमा पनि सुनसरीका धरानवासीले बढी चाउचाउ खाने गर्थे । त्यतिले मात्रै पुग्दैनथ्यो । चाउचाउ बिक्री बढाउने उपाय खोजियो । गुण्डक नुडल्स प्रालिले ‘चिकेन फ्लेबर’ को रारा चाउचाउको बिक्री बढाउन विज्ञापन बनाउने निष्कर्ष निकाल्यो । आचार्यले त्यतिबेलाको दुःख सुनाए, ‘नेपालमा विज्ञापन बनाउने एजेन्सी नपाएपछि कलकत्ता पुगेँ । भनेजस्तो नभएपछि मुम्बई गएँ । नेपाली चलचित्र माइतीघर सुटिङ गरिएको स्टुडियोमा भिडियोसहितको विज्ञापन तयार भयो ।’
‘आरए आएर रारा
मीठो भन्छन् सारा’
भन्ने विज्ञापन ०४२ देखि रेडियोबाट प्रसारण हुन थाल्यो । त्यतिबेला ३ रुपैयाँ ५० पैसा पर्ने चाउचाउ सबैले नखाए पनि धेरैले विज्ञापन गुनगुनाउँथे । रेडियोबाट दैनिक बिहान पौने आठमा विज्ञापन प्रसारण हुन्थ्यो ।
विनाभन्सार भारतमा रारा
विद्यार्थी हुँदा चिनेको काठमाडौँका एक साथीले उनको पसलमा राख्न नमाने पनि रारा चाउचाउ विनाभन्सार भारत पठाइन्थ्यो । आफ्नै साथीले रारा चाउचाउलाई ‘काम नलाग्ने वस्तु’ भने पनि भारतमा बजार विस्तार गर्न सफल भएको आचार्यले बताए ।
भारतमा चाउचाउको बजार विस्तार गर्न साथी कमलसिंह कार्कीले सघाए । कार्कीकै सहयोगमा भारतीय वाणिज्य सचिव आविद हुसेनसँग भेटघाट भयो । वाणिज्य सचिव सकारात्मक देखिएपछि नेपाल सरकारले सो एजेन्डा प्राथमिकतामा मात्रै राखेन पारित नै गर्यो । त्यसपछि झन्डै चार वर्ष रारा चाउचाउ भारतीय बजारमा पठाइएको थियो । तर, नेपाली चाउचाउले बजार लिने डरले भारतीयले विभिन्न किसिमका बखेडा झिकिएको आचार्यले बिर्सेका छैनन् ।
आफ्नै देशमा उद्यम गरेर खानुपर्छ भन्ने मान्यतासहित आचार्यले आफ्नो अंशमा परेको सम्पत्ति रारा चाउचाउमा लगानी गरेका थिए । पसिनाको गीत गाएर खानुको मज्जा अरूसँग तुलना गर्न सकिँदैन । अन्ततः नेपाली उद्योगमा गण्डकी नुडल्स प्रालिद्वारा उत्पादित रारा चाउचाउ कोसेढुंगा साबित भयो । रारा चाउचाउको लोकप्रियता हिजोआज पनि उस्तै छ । रारा उत्पादन भएको दुई वर्षपछि वाइवाइ चाउचाउ बजारमा आएको हो । त्यसपछि अन्य थुप्रै चाउचाउ बजारमा आएका छन् । सबै चाउचाउमाझ राराको स्वाद पृथक छ ।
चाउचाउ उत्पादन उत्कृष्ट रहेकाले रारालाई स्पेनबाट अन्तर्राष्ट्रिय पुरस्कार दिइएको थियो । गण्डकी नुडल्स प्रालिबाट १६ वर्षअघि अलगिएका संस्थापक प्रबन्ध निर्देशक कृष्ण आचार्यले हिजोआज पनि त्यत्तिकै स्वाद मानीमानी रारा चाउचाउ खाने गर्छन् । आचार्यलाई दक्षिण एसियामै पहिलोपटक उत्पादित रारा चाउचाउप्रति अगाध प्रेम छ । तर, पछिल्लो समय तयारी चाउचाउ उत्पादन गर्ने हामी पहिलो हौँ भन्दै प्रचार÷प्रसार गर्नेप्रति आश्चर्य मान्ने आचार्यले भने, ‘रारा चाउचाउको इतिहास मेट्न खोजे पनि मेटिँदैन ।’ ( रातोपाटी)