रेमिट्यान्सको ब्यापार
मन्त्री भएपछि गर्न सकेका कामको अनुभव सुनाउने सेतोपाटी शृंखलामा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले अनुभव बाँडे ‘जति नेपालीलाई रोजगारका लागि विदेश पठाउन सक्यो, त्यसैलाई उपलब्धी मान्न हामी बाध्य छौं।’
तन्नेरीहरू कामका लागि विदेश गएको मन्त्री गुरुङलाई मन परको छैन। अन्तर्वार्तामा यो कुरा उनले प्रष्ट भनेका पनि छन्। तर बैदेशिक रोजगार बिभागका अनुसार सन २०१४/२०१५ मा मात्रै करिब ५ लाख नेपाली युवा कामका लागि बिदेश उडे। यो संख्या भारत र दक्षिण कोरिया गएकाहरू बाहेकको हो।
विभागका अनुसार संसारभरिका १ सय १० देश बैदेशिक रोजगारीका लागि खुला छ। ती देशहरुमा काम गर्नेहरुले पठाएको पैसा, रेमिट्यान्सले नेपालको अर्थतन्त्रको झण्डै एकतिहाई भाग ओगटेको छ।
विश्व वैंकका अनुसार सन २०१५ मा ६.७३ विलियन डलर नेपाल भित्रियो, जुन नेपालको कुल जिडिपीको ३२.२% हिस्सा हो। यो रकम ३५ बाट देशबाट नेपाल भित्रिएको थियो।
रेमिट्यान्स नेपाल आउने र नेपालबाट बाहिर जाने तथ्यांकमा भारतको चित्र भने बिचित्रको छ। विश्व बैंकका अनुसार सन २०१५ मा नेपालले भारतबाट १ विलियन डलर विप्रेसण भित्र्यायो भने नेपालबाट २.७ बिलियन डलर रकम भारत पुग्यो।
नेपालले सबैभन्दा धेरै रेमिट्यान्स कतारबाट भित्र्याएको थियो। विश्व बैंकका अनुसार सन २०१५ मा कतारबाट मात्रै २.०२ बिलियन डलर बराबरको रेमिट्यान्स भित्रियो भने साउदी अरबबाट १.८ विलियन डलर, र अमेरिकाबाट ३३२ मिलियन डलर विप्रेशण नेपाल भित्रियो।
नेपालमा रोजगारीका अवसरहरु नबढ्दासम्म युवाहरु विदेशिने क्रम रोकिने छैन। र नेपाल भित्रिने रेमिट्यान्समा पनि कमि आउने छैन। बरू प्रत्येक वर्ष यसको भोल्युम बढिरहने देखिन्छ।
श्रम मन्त्री गुरुङलाई मन नपरे पनि, नेपालको अर्थतन्त्रको एक तिहाई हिस्सा - कूल जिडिपीको ३२.२ प्रतिशत - ओगट्ने विप्रेशण व्यवस्थापन अबको प्राथमिकतामा पर्नु नेपाल र वैदेशिक रोजगारीमा जाने, दुवैका लागि हितकर देखिन्छ।
पैसा पठाउन लाईन
दोहाको तरवार गेट (तरवार आकारको प्रतिमा भएकाले दोहाका नेपालीमाझ यो नामले प्रख्यात ठाउँ) नजिकै एउटा कुनामा प्रभु रेमिटको अगाडि शुक्रबारको दिन नेपाल पैसा पठाउनेहरुको लाईन लाग्छ। कतारी क्यालेण्डर अनुसार शुक्रबार विदाको दिन नेपाल पैसा पठाउन सजिलो पर्छ। त्यसैले लाईनमा धेरै नेपालीहरु हुन्छन्।
काठमाडौं वा अरु सहर तथा जिल्ला सदरमुकाममा पनि सोही अनुसार पैसा संकलनका लागि मानिसहरुको लर्को लागेकै हुन्छ। उताबाट आएको पैसाबाटै जिल्ला सदरमुकाम झरेकी श्रीमतीले केटाकेटीको ट्युसन तिर्छिन्; बजारमा बनेको घरमा तला थपिन्छ; केही नभए तीन आनाको टुक्रो जोडिएको हुन्छ।
यी सबै कामका लागि उताबाट आउने पैसा कुर्नै पर्छ।
दोहा जस्तै नेपालीहरु धेरै भएका ठाउँहरुमा पनि फुर्सद हुने बार हेरी पैसा पठाउनेको लाईन लामै हुन्छ। सोल, न्यूयोर्क, लण्डन वा टोकियोमा यो देख्न पाईन्छ। यस्तो लाईन, स्वभावैले, नेपालको चाडबाडको समय वरपर अझ बढी हुने गर्छ।
नेपाल पैसा पठाउने नयाँ कम्पनीहरु प्रत्येक वर्ष थपिएका छन। र पैसा पठाउने लाईनको लर्को पनि थपिंदै छ। र रेमिट्यान्स व्यवसायको डाईनामिक पनि सोही अनुसार फराकिलो बन्दै छ।
सुरु सुरुमा हुन्डीबाट पठाईने रेमिट्यान्स अब कानूनी दायरामा आएको छ। यद्यपी अझै पनि हुण्डी पुरै हटिसकेको भने छैन।
संसारको कुनै एक कुनामा पैसा दिएर अर्को कुनामा (यो मामलामा नेपालमा) पैसा लिने देखि एजेण्ट बिहीन पैसा ओसार पसार अहिले प्रयोग भैरहेको रेमिट्यान्सको तरिका हो। नेपालीहरु अझै पनि एकठाउँमा पैसाको बिटो दिएर अर्को दिन नोटको बिटो लिन मन पराउँने रेमिट्यान्स व्यवसायी बताउँछन्।
जिल्ला सदरमुकाम र बजारहरुमा खुलेका विभिन्न बैंकका नयाँ शाखाहरु अगाडि गोप्य कोड नम्बर बोकेर लाईन लाग्नेहरु यसैको एउटा पाटो हो। कागजबिहीन, एउटा बैंकबाट अर्कोमा ट्रान्सफर गर्ने तरिकामा भने अझै पनि नेपाली कम विश्वास गर्छन्। कि त नेपालमा पैसा लिनेहरुको बैंक खातै खुलेको छैन, या पठाउनेले पुरै अनलाईनबाट पठाउन जानेकै छैन। वा अनलाइनबाट पैसा ट्रान्सफर गर्ने कुरामा विश्वास भैसकेको छैन।
अमेरिकाबाट नेपाल पैसा पठाउने ठमेल रेमिटका प्रमुख राजेश लाल जोशी भन्छन्, ‘नेपालीहरुमा यो क्रम अझै केही समय चल्नेछ।’ नेपाली रेमिटकर्ताहरु एजेण्ट बिहिन मनि ट्रान्सफरका लागि पर्याप्त सूचित नभैसकेको यसले देखाउँछ।
अनलाइनमा आफ्नो विवरण भरेर, आफ्नै बैंक एकाउण्टबाट अनलाईनमै रेमिट्यानन्स कम्पनी मार्फत पैसा पठाउने सजिलो तरिकामा अझै कम नेपालीको विश्वास देखिन्छ।
किसिम किसिमका कम्पनी
रेमिट्यान्स नेपाल पठाउने थरी थरीका कम्पनी छन्। विदेशको शहरका कुना कुनामा पैसा संकलन गर्ने केन्द्र र नेपालमा कुनै पनि ठाउँबाट पैसा लिन मिल्ने व्यवस्था मिलाएका वेस्टर्न युनियन वा मनिग्रामदेखि पूर्ण रुपमा अनलाई ट्रान्सफर गर्न मिल्ने ठमेल डट कम वा मुन्चा मनि ट्रान्सफर सम्मका कम्पनी अहिले रेमिट्यान्स व्यवसायमा छन।
नेपालीलाई बानी परेको भने एक ठाउँमा पैसा दिएर अर्को ठाउँमा पैसाको बिटो संकलन गर्ने तरिका हो। यस्तो सेवा दिने वेस्टर्न यूनियन र मनि ग्राम अरुको तुलनामा महंगा पनि छन्। जसले प्रत्येक पटक पैसा पठाएको १० देखि २० डलरसम्म सेवा शुल्क लिन्छन्।
कतिपय देशमा यो शुल्क अझ बढी पनि छ। यी कम्पनीहरू विदेशी रकमको नेपाली रुपैयाँ सटही पनि केही सस्तोमा गर्छन। तर धेरैजसो नेपाली, कम्तिमा अमेरिकामा वस्ने नेपालीहरु, का लगि चैं महंगै भए पनि यस्तै सेवा बढी विश्वासिलो देखिन्छ।
त्यसको तुलनामा सेवा शुल्क कत्ति पनि नलिने र नेपाली रूपैयाँ सटही पनि राम्रो दिने अनलाईन ट्रान्सफरहरु भने नेपालीमाझ कम प्रचलित देखिन्छ।
ठमेल मनि ट्रान्सफरका राजेश लाल जोशीका अनुसार उनको कम्पनीले गत वर्ष अमेरिकाबाट नेपाल जाने विप्रेशणको करिब १० प्रतिशत हिस्सा ओगट्न सकेको थियो।
अनलाईन मनि ट्रान्सफर गर्ने मुन्छा रेमिटको पनि व्यवसाय हिस्सा त्यस्तै थियो। यी दुवै कम्पनीले सेवा शुल्क लिने गरेका छैनन्।
रोचक पक्ष के छ भने, ‘अमेरिकाबाट कारोबार गर्ने ठमेल रेमिटको अमेरिकामा कुनै भौतिक कार्यालय छैन। सबै काम नेपालबाटै हुन्छ। र पनि अमेरिकामा व्यापार चलिरहेको छ।
अरु रेमिट्यान्स कम्पनीहरु, जस्तै प्रभु र आईएमईको पैसा जम्मा गर्ने-दिने, र पूर्ण अनलाई ट्रान्सफर गर्ने, दुवै खालका सेवाहरु छन्। र त्यसका लागि सेवा शुल्क पनि फरक छ। पूर्ण अनलाइन ट्रान्फरका लागि शुन्य सेवा शुल्क छ भने पैसा संकलन गरेर नेपालमा पनि पैसा नै दिने सेवामा भने निश्चित शुल्क तिर्नु पर्ने हुन्छ।
कानूनी तगारा
पैसाको ओसार पसार आफैंमा चूनौतिपूर्ण काम हो। पसिना खियाएर बनाएको अरूको एक पैसा पनि तलमाथि हुनु गम्भीर विषय हो। त्यसमाथि, आतंककारी गतिविधिमा यस्तो पैसा उपयोग हुन सक्ने डर पनि त्यतिकै हुन्छ। यी तथ्यहरुलाई ध्यानमा राखेर हरेक देशले पैसा ओसारपसारमा साँच्चै नै निगारानी राखेको हुन्छ। जस्तो अमेरिकाबाट यदि कसैले रेमिट्यान्स कम्पनी सुरू गर्न चाह्यो भने पचासवटै राज्यहरुबाट अनुमति लिनुपर्ने र एन्टी मनि लाउण्डरिङ कानूनी प्रावधान पुरा गर्नुपर्ने हुन्छ।
सन २००१ मा अमेरिकामाथि अल कायदाले आक्रमण गर्नु अघिसम्म अमेरिकाको कुनै एक ठाउँमा रेमिट्यान्स कम्पनी दर्ता गरे पुग्थ्यो। ९/११ को अमेरिका आक्रमण पछि यस्तो प्रावधानहरु थपिएका हुन्। पैसा ओसार पसारमा कडाईको यस्तो नियम लगभग हरेक देशले अपनाएका छन्।
सुरक्षाका कारण थपिएका नयाँ नयाँ कानूनी प्रकृयाले व्यवसाय अरु झम्झटिलो बनाएको व्यवसायीहरुको गुनासो छ।
यसबाहेक रेमिट्यान्स व्यवसायमा थपिएका नयाँ कम्पनीले थप चुनौती दिएका छन्। पैसाको अनलाईन कारोवार गर्ने पे-पालले भर्खरै सुरु गरेको जुम मनि ट्रान्सफर नेपाली रेमिट्यान्स कम्पनीहरुका लागि चुनौति थपिदिएको छ।
रेमिट्यान्स बजारमा जो जो प्रतिष्पर्धी थपिए पनि नेपाल पैसा पठाउनेहरुले यदि नेपाली कम्पनीबाटै कारोबार गरिदिने हो भने व्यवसायबाट बच्ने, सानै भए पनि, नाफाको हिस्सा नेपाली कम्पनीहरुकै हातमा पुग्नेछ।