डाक्टर गोविन्द केसी अहिले जारी वार्ताबाट आफ्ना माग पूरा हुनेमा आशावादी हुन सकेका छैनन्। चिकिसा शिक्षाका बेथिति अन्त्य हुनुपर्ने माग गर्दै सत्याग्रह गरिरहेका डाक्टर गोविन्द केसीका सहयोगी र सरकारी वार्ता टोलीबीच सोमबार दोस्रो पटक भएको वार्ताले कुनै ठोस परिणाम दिन सकेन। सरकारी टोलीका एक सदस्यले उनका अधिकांस माग सम्बोधन भईसकेको र बाँकी माग पूरा गर्न मंगलबार वार्ता जारी हुने बताएका छन्। तर डाक्टर केसीले त्यसप्रति गम्भीर आशंका व्यक्त गरेका छन्। सरकारी टोलीसँग वार्ताको क्रम शुरु भईसक्दा पनि त्रिवि शिक्षण अस्पतालको एक सैय्यामा १६ दिनदेखि पल्टिरहेका डाक्टर केसीले आफ्नो आमरण अनसन तोड्ने कुनै संकेत दिएका छैनन्। वार्ता सरकारी वार्ता टोलीका एक सदस्य, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठका अनुसार उनका अधिकांस माग पूरा भइसकेका छन् र आईओएममा नयाँ डीन नियुक्तिका विषयमा दुई पक्षबीच छलफल प्रारम्भ भएको छ। "अहिलेका डीन र उपकुलपतिको बर्खास्तगीको विषयमा सहमति हुन बाँकी छ। त्यसबाहेक उहाँका सबै माग पूरा भइसकेको छ।" तर डाक्टर केसीले त्यो सत्य नभएको बताउँदै वार्ता गर्नुको औचित्यमाथि नै प्रश्न उठाएका छन्। "कुनै पनि माग पूरा भएको छैन। हामीलाई थकाउने मनस्थितिमा छन्। जति वार्ता गरे पनि त्यसको कुनै महत्व छैन।" डाक्टर केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान, आइओएममा वरिष्ठताका आधारमा तत्काल नयाँ डिन नियुक्तिको मागका अतिरिक्त त्रिविका उपकुलपतिलाई बर्खास्त गरिनु पर्ने; संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा आफूहरुले दिएका सुझाव समेटिनु पर्नेलगायतका माग राखेका छन्। उनले अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रक्रिया निश्कर्षमा पुर्याएर उनलाई जवाफदेही बनाइनु पर्ने र प्रत्येक प्रदेशमा कम्तिमा एक सरकारी मेडिकल कलेज खोलिनु पर्ने लगायतका माग समेत राखेका छन्। कुनै पनि माग पूरा भएको छैन। हामीलाई थकाउँने मनस्थितिमा छन्। जति वार्ता गरेपनि त्यसको कुनै महत्व छैन डाक्टर केसीको जारी दसौं आमरण अनसन अहिलेसम्मकै लामो हुन पुगेको छ। सोमबार १६ औं दिनमा पुग्दा उनको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेका चिकित्सकले उनको स्थिति गम्भीर बन्दै गएको, उनको छातीमा र मांसपेसीमा पीडा हुने क्रम बढेको र उनको जीवन कुनै पनि बेला खतरामा पर्न सक्ने बताएका छन|(बिबिसी)