काठमाडौँ /
रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो भने आज तराई मधेशका जिल्लामा होली पर्व मनाउने चलन रहेको छ । सरकारले हिजो उपत्यका सहित पहाडी तथा हिमाली जिल्लामा सार्वजनिक विदा दिएको थियो, भने आज तराई मधेशमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । स्थान अनुसार मनाइने होलीको नाम पनि फरक–फरक रहेको छ । हिमाली र पहाडी क्षेत्रमा फागु पूर्णिमा र तराई–मधेशमा होली र मैथिली भाषामा भने होलीलाई फगुआ र होरीका नामबाट खेलिने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट अर्थात भोली होली पर्व मनाउने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको बताइएको छ । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत हुने गरेको छ । सबैलाई एउटै रंगमा रंगाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहि आएको समेत मान्यता रहेको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै समेत आएको बताइएको छ ।।