इमान्दारिताको पर्यावाची "हाचिको"

Everest Fuji News २०७३ आश्विन १८ मा प्रकाशित       Published at 2016 Oct 04


image“There are three faithful friends – an old wife, an old dog, and ready money.” – Benjamin Franklin कुकुर र इमान्दारीता पर्यावाची हुन भन्ने कुरा बेन्जामिन फ्रेकलिनको यो भनाइबाट पनी प्रष्ट हुन्छ । वास्तवमै,कुकुर भित्रका धेरै यस्ता गुणहरुको कारणले गर्दा मानिस र कुकुर बिचको सम्बन्ध प्राचिन समय देखी नै प्रगाढ रहदै आएको छ । जब मानिसहरु शिकारी युगमा थिए त्यती बेलादेखी मानिसको समुहमा कुकुरहरु रहन थालेको इतिहास पाइन्छ । बिभिन्न जातका कुकुरहरु ब्यवस्थित ढंगले १९औ शताब्दी देखी पाल्न शुरु भएपछी कुकुर र मान्छेको घनिष्ठता झनै बढ्दै गएको हो । आजको दिनमा कुकुरलाई जनावरको रुपमा भन्दा पनी मान्छेको एउटा असल साथिको रुपमा हेर्ने दृष्टिकोण ब्यापक हुदै गएकोछ । हाम्रो नेपाली हिन्दु परम्परामा त झन कुकुर पूजा गरेर सम्मान गर्ने पर्व नै छ । संसारमा कुकुरलाई अति माया र सम्मान गर्ने देशमा जापान पनी पर्दछ । कुनै पनी बिदेशी पहिलोपटक जापान आउदा यहाँको कुकुर प्रेम देखेर आश्चर्यमा पर्दै भावुक बन्छन ।जापानमा कुकुरको बारेमा काम गर्ने संस्थाको एउटा तथ्याकंमा करीब १ करोड १५ लाखको संख्यामा कुकुरहरु रहेको जानकारी दिइएको छ । कुकुर पाल्नुलाई जापानिजहरु इज्जत र प्रतिष्ठाको रुपमा लिन्छन । कुकुरलाई घरपालुवा जनावरको रुपमा हेर्ने भन्दा पनी आफ्नो परिवारको एक सदस्यको रुपमा सम्मान र महत्वका दिएर घरमा स्थान दिइन्छ। जापानका प्रत्येक चार घर मध्ये एक घरमा कुकुर र बिरोला रहेका हुन्छन ।त्यसमा पनी कुकुर पाल्नेको संख्या अत्याधिक बढी छ ।जापानको टोकियो नजिकै रहेको सिबिया रेलवे स्टेसन अगाडीको परिसरमा जापानको एउटा प्रख्यात कुकुरको मुर्ती रहेको छ । दैनिक सयौको संख्यामा बिदेशी तथा जापानीजहरु त्यो मुर्तिको नजिक गएर फोटो खिचिरहेको भेटिन्छन । त्यो कुकुरको महिमा जापान भरी छ । हाचिको नामले प्रख्यात उक्त कुकुर जापानको ओदिता शहरको अकिता प्रान्तमा पाइने "अकिता प्रजाति" को एक नश्ल हो। हाचिकोको बारेमा जापानमा बिभिन्न कथा कविता उपन्यासहरु पनी चर्चित छन । सिनेमा डकुमेन्ट्रीहरु पनी बनेका छन । सन २००९ मा हलिउडका प्रख्यात स्टार रिचार्ड गेरेको सिनेमा "हाचिको" निर्माण भएपछी यसको चर्चा झन बिश्वब्यापी रुपमा भएको थियो । टोकियो युनिभर्सिटीका एकजना प्रोफेसर हिदेसाबुरो उएनोले हाचिकोलाई सन १९२४ मा अकिता प्रान्तबाट पाल्नको लागी आफ्नो घरमा ल्याएका थिए । प्रोफेसर जब काममा निस्कन्थे । हाचिको पनी सँगै जान्थ्यो । उनि फर्केपछी सँगै फर्कन्थ्यो ।सिलसिला यहि चलिरहन्थ्यो । एकदिन कामबाट प्रोफेसर फर्केनन । युनिभर्सिटीको एक कार्यक्रममा बोल्दा बोल्दै अचानक मष्तिष्कमा रक्तस्राव भइ उनी ढलेर बेहोस भए र उनको मृत्यु भयो । तर हाचिको प्रोफेसरलाई सदाझै नियमित कुरिरह्यो मालिक फर्कने बाटो हेरिरह्यो । प्रोफेसरको घर गएर अन्य कोही सँग बस्न पनी बसेन उ सिबिया वरिपरी नै ९ बर्ष भन्दा बढी समय निरन्तर प्रतिक्षा गरिरह्यो । अन्तत एकदिन सिबियाको त्यही ठाउँमा उसको मृत्यु भयो । प्रोफेसर र हाचिको बिचको भावनात्मक सम्बन्ध अनि हाचिकोको प्रोफेसर प्रतिको वफादारी र प्रेमको सम्मान गर्दै..त्यही ठाउमा हाचिकोको मुर्ति बनाइयो । जहाँ सधै मान्छेहरुको फोटो खिच्न भिंड लाग्ने गर्छ । त्यो वरिपरिको वातावरण नै एकप्रकारले हाचिकोमय लाग्छ । वरिपरीका भवनका भित्तामा कुदिएका कलाकृतिहरु..रेष्टुरेन्टहरु भित्रका इन्टेरियरहरु पनी प्राय हाचिकोको सम्झना आउने खालका कलाकृतिहरु प्रयोग गरी बनाइएका छन । त्यहाँ पुगेर हाचिकोको वफादारी र मालिक प्रति उसको समर्पणका कलाकृतिहरु मार्फत महशुष गर्दा केही क्षण धेरैलाई भावुक बनाउन सक्छ । अझैपनी हाचिको आफ्नो मालिकको प्रतिक्षामा नै त्यही बसिरहेको छ कि झै लाग्न सक्छ । प्रत्येक बर्ष अप्रिल ८ मा हाचिकोको सम्झनामा त्यहाँ बिभिन्न कार्यक्रम हुने गर्दछ । हजारौ मान्छेहरुले त्यहाँ पुगेर उसलाई स्मरण गर्ने गर्छन । बिश्वमा इमान्दार कुकुरका कथाहरु धेरै छन तर जापानको हाचिकोको कथा अलि भावनात्मक र यसको चर्चा अलि बेग्लै छ । इमान्दारीता वफादारीता र समर्पणको प्रतिक मानिसको दैनिक जीवनको साथी कुकुरबाट हामी मान्छेले पनी धेरै प्रेरणा लिन सक्छौ -अर्पण खरेल ( लेखकको केही समय पहिला बार्हखरीडटकममा प्रकाशित यो लेख हामीले पुन प्रकाशित गरेका छौ ।)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.