दलहरुको छलफल तीव्र, गठबन्धनमा रहेका दलहरुले धेरै मन्त्रालयको दाबी गरेपछि मन्त्रालयको भागबन्डा जटिल,

Everest Fuji News २०७९ चैत्र ९ मा प्रकाशित       Published at 2023 Mar 23


सत्तारुढ गठबन्धनमा आबद्ध दल सरकारलाई पूर्णता दिनेबारे छलफलमा केन्द्रित भएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल तीव्र भएको छ ।

सङ्घ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्ने गरी छलफल थालिएको छ । कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । तर भागबन्डा मिलाउन प्रमुख दलहरुलाई सकस पर्ने देखिएको छ ।कांग्रेसले नौ वटा मन्त्रालय दाबी गरेको छ भने एकीकृत समाजवादीले तीन वटा मन्त्रालयको दाबी गर्दै आएको छ । सरकारलाई समर्थन गरेका अरु दल राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेसपा र आम जनता पार्टीलाई पनि मन्त्रालय दिने गरी प्रधानमन्त्रीको तयारी छ । अहिले प्रधानमन्त्रीसँग १६ मन्त्रालयको जिम्मेवारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका बसेको बैठकमा दलबीच तत्काल मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको र चाँडोभन्दा चाँडो सरकारलाई पूर्णता दिने बताउनुभएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भए पनि कुन दललाई कति सङ्ख्या भन्ने तय भइसकेको छैन तर छलफल सुरु भएको उहाँको भनाइ छ । उहाँले अबको दुई÷तीन दिनमा सबै टुङ्ग्याउने गरी छलफल थालिएको बताउनुभयो ।

प्रतिनिधि सभाबाट सोमवार विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रवारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको थियो । तर, मन्त्रालयको सङ्ख्याभन्दा गठबन्धनमा रहेका दलहरुले धेरै मन्त्रालयको दाबी गरेपछि मन्त्रालयको भागबन्डा जटिल बनेको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.