तुलसी बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा सहकारीका सिए पक्राउ

Everest Fuji News २०७९ चैत्र ८ मा प्रकाशित       Published at 2023 Mar 22


विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा सहकारीका सिए सितल चन्दलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

फरार रहेका चन्दलाई विराटनगरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

चन्दसहित यसअघि पक्राउ परेका सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु भइरहेको डिएसपी दाहालले बताए ।

सहकारीका संचालकहरुलाई पक्राउ गरेपछि उनीहरुविरुद्ध मोरङ प्रहरीमा ठगीमा उजुरी दिने बचतकर्ताको संख्या पनि बढेको उनले बताए । सोमबार साँझसम्म १ हजार २ सय ३७ जनाले ४८ करोड ४६ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका छन् । यो संख्या अझै वृद्धि भएर जाने उनले बताए । ‘अहिले पनि सयौंको संख्यामा सहकारीविरुद्ध उजुरी दिन आउने बचर्तकर्ताहरूको भिड लागेको छ,’ डिएसपी दाहालले भने, ‘यो संख्या अझै बढ्नेछ ।’

सर्वसाधारणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारी संस्थाका अध्यक्ष शर्मासहित ८ जना संचालकविरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । फरार अध्यक्ष शर्माको खोजी कार्य पनि प्रहरीले तीव्र बनाएको छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.