कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको हो । नयाँ गठबन्धन दलहरूले प्रदेश सरकारको नेतृत्वमा आ–आफ्नै दाबी प्रस्तुत गर्न थालेपछि कोशी प्रदेश सरकारको नेतृत्व अब कसको भागमा पर्ला भन्ने चासो बढेको छ ।
कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदले आ–आफ्नै दाबी प्रस्तुत गरिरहे पनि प्रदेश सरकारको नेतृत्व केन्द्रीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले गर्ने निर्णयमा निर्भर छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दोस्रो पटक सदनबाट विश्वासको मत पाएपछि प्रदेशको सत्ता समीकरणको बाटो खुलेको हो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, राप्रपाका ६, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादीका १ जना प्रदेश सांसद छन् । माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका कार्कीले नेतृत्व गरिरहेको सरकार माओवादीले समर्थन फिर्ता लिएसँगै ढल्ने अवस्थामा पुगेको र नयाँ सरकार गठनको खेल सुरु भएको हो । यसका लागि सभामुख बाबुराम गौतम निर्णायक हुने देखिन्छन् । अहिलेका नयाँ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सभामुखसहित ४७ जना सांसद पुग्ने देखिन्छ ।