सन्दर्भ: कृष्ण जन्माष्टमी

Everest Fuji News २०७९ श्रावण २६ मा प्रकाशित       Published at 2022 Aug 11



  चक्रपाणि शर्मा गौतम,

बोष्टन, अमेरिका |

हिन्दु धर्मग्रन्थहरुका अनुसार आजभन्दा करीव ५००० बर्ष पहिले यस प्रृथ्वीमा  गर्ने राजाहरु र शासकहरुको क्रुर ब्यबहारले गर्दाखेरि जताततै हत्या,हिंसा,आतंक,लुटपाट,आदि भैरहने भएर धरती मातालाई यस्तो अवस्थाको सहन गर्न ज्यादै कठीन हुन गएछ। आफ्नो यो ब्यथालाई लिएर प्रिथ्वी माता एक महिलाको भेष धारण गरी स्रिष्टिकर्ता ब्रह्मा समक्ष गएर आफ्नो दु:खेसो पोखिछन।ब्रह्माले यो कुरालाई लिएर उनै दिनदयालु परमात्मा परमेश्वर जगतपति बिष्णु भगवान सामु गएर स्तुति-प्रार्थना गर्न लागेछन।ब्रह्माको यस्तो स्तुतिपूर्ण आग्रहलाई बिष्णु भगवानले स्वीकार गरेर आफु अब छिट्टै मानव अवतार लिएर धरतीमा गै दुष्टहरुको संहारगरी साधु-सज्जनहरुको उद्धार गर्ने आश्वासन दिएछन।यहि आफ्नो कबुल अनुसार बिष्णु भगवानले आठौं अवतारको रुपमा द्वापरयुगमा श्रीक्रिष्णको अवतार लिएर देवकीको कोखमा जन्म लिएका हुन भन्ने प्रसङ्ग बिभिन्न हिन्दु पुराणहरुबाट अवगत हुन्छ।


  मथुरा भारतको उत्तर प्रदेश स्थित यमुना नदीको किनारमा रहेको एक सुन्दर नगर हो।त्यतिबेला यहां उग्रसेन नाम गरेका एक कुशल तथा धर्मपरायण राजाले राज्य गर्दथे।यिनका दुई सन्तान थिए,कंश नाम गरेको एक छोरा र देवकी ना गरेकी एक छोरी।देवकीको बिवाह सुरसेनका सत्यवादी पुत्र बसुदेवसंग बडो धुमधामका साथ सम्पन्न भयो।हर्षले उन्मत्त हुंदै कंश आफैले रथ हांकेर आफ्ना बैनी-ज्वाईंलाई लिएर बाटोमा जादै थियो,केही पर पुग्दा अचानक आकाश तिर गड्यांङ्गुडुङ् गर्दै एक उत्पात हुरी-बतास लाग्न थाल्यो।रथ सहित जन्तीको लस्कर रोकियो।यसै समयमा माथीबाट एक आकाशवाणी भयो--हे कंश!अहिले ता तं हर्षले अटाईनसक्नु भएर रथ हांक्दै बैनी-ज्वाईंलाई लिएर कुदिरहेको छस।हेर,सुन!तेरी बैनी देवकीको आठौं गर्ब तेरो काल बनेर आऊनेछ।


 यो सुनेर कंश केहीबेर अक्मकियो,अनि खटपटिएर रीशले चूर भै हातमा तरवार समाएर आफ्नी बैनी देवकीलाई काटेर मार्ने अठोट गर्यो।यो देखेर बसुदेवले दुबै हात जोडी बिन्ति गर्दै देवकीबाट जन्मने सबै सन्तान मैले तपाईंलाई सुम्पनेछु,अहिले बैनीलाई मार्ने काम नगर्नु हवस भने।बसुदेव एक सत्यनिष्ट हुनाले उनको आग्रह कंशले स्वीकार गर्यो,तर उनीहरु दुबैलाई हतकडी लगाएर एक घर भित्र लगेर नजर्बन्दगरी राख्न सैनिकहरुलाई आदेश दियो।देवकीबाट जन्मने सन्तानको कडा निगरानी राख्नका निम्ति आफ्नी बिश्वासपात्र बैनी पुतना पहरेदारको रुपमा खटायो।


    आकाशवाणीको भरमा बसुदेव र देवकीप्रति कंशले गरेको ब्यबहारबाट उग्रसेन रुष्ट भएका थिए।यो कुराको पत्तो पाएपछि कंशले उल्टै आफ्ना पिता उग्रसेनलाई हतकडी लगाई जेलमा हालेर आफु स्वघोषित राजा भयो,अब जे गर्न पनि अथाह शक्ति उसैमा केन्द्रित हुन गयो।मथुरा राज्यभरी आतङ्कको शूरुवात हुन थाल्यो।देवकीबाट सन्तान जन्मन शूरु भएपछि छओटा सम्म सन्तान कंशले आफैले देवकीको कोखबाट खोसेर ढुङ्गामा छांटी-छांटी मारिदियो।देवकीको सातौं सन्तान तुएर गयो भन्ने बहाना बनाएर बसुदेवले आफ्नी दोस्री पत्नी रोहिणीको कोखमा योगमायाको दैविशक्तिद्वारा पठाएर बंचाए,जो बलराम थिए।देवकीको आठौं सन्तानको रुपमा श्रीक्रिष्णको जन्म कारागार मै भयो।यो समयमा बिजुली चम्केर भारी बर्षा भयो,कारागारमा झलमल बत्ति बले झैं भयो। त्यतिबेला भाद्रमास क्रिष्णपक्ष अष्ठमी तीथिको मध्यकालरात्री थियो। आकाशबाट पूष्पब्रिष्टि हुन थाल्यो,स्वर्गमा नाच,गान र बजानसहित देवताहरु लगायत सबैले हर्ष मनाए।बालक क्रिष्णलाई गोकुलमा लगी यशोदालाई सुम्पने र त्यहां जन्मेकी छोरीलाई यहां कारागारमा लिएर छिट्टै आऊने भन्ने बसुदेवलाई आकाशवाणी भयो। उनको शरीरमा लगायिएका हतकडी, द्वारहरुका ढोकाहरु सबै आफै खुले,द्वारपालेहरु स्वत:मस्त निन्द्रामा परेजस्ता भए,बालक राखेर लैजाने टोकरी त्यहिं पैदा भयो।देवकी मस्त निन्द्रा मै थियिन,यसै बेला मध्यरातमा बसुदेवले बालक क्रिष्णलाई टोकरीमा राखेर लियी हिंडे।भारी बर्षाका कारण यमुना नदी समुन्द्र झैं थियो,नदीको पानीले बालक क्रिष्ण रहेको टोकरी र बसुदेवको टाउको बाहेक अरु सबै डुबेको थियो। अनन्त शेषनागले आफ्ना टाउकाहरुले क्रिष्ण र बसुदेवलाई छत्र बनाएर चारैतिरबाट सुरक्षित पारेका थिए।


  बसुदेवले यमुना नदी तरेर गोकुलमा गै बालक क्रिष्णलाई यशोदाको बिस्तरामा सुताए,त्यहां भएकी छोरीलाई उठाएर लियी उत्त्निखेरै कारागारमा पूर्ण सुरक्षित रुपले आयिपुगे।दिनभरीको थकानका कारण मस्त निन्द्रामा भएर यशोदा मैयांलाई बच्चा साटेर लगेको पत्तै भएन। भोलीपल्ट बिहान ब्युंझेर आफ्ना आडमा हेर्दा त एक अति सुन्दर,तेजस्वी बालक, आश्चर्यचकित भयिन,यशोधा मैयांको मन हर्षले भरियो।नन्दबाबा पनि यो देख्दा अति हर्षित भए।धुमधामका साथ छोरो जन्मेको उपलक्ष्यमा हर्ष-बढाईं गरियो।दिन पुगेपछि बलराम र क्रिष्ण दुबैको नामाकरण संस्कार(न्वारन कर्म) सम्पन्न भयो।ऋषि-मुनीहरुले बलरामलाई अनन्त शेषनागका अंश अवतार र क्रिष्णलाई साक्षात त्रिलोकपति भगवान बिष्णुका प्रारुप हुन भनेपछि सम्बन्धित सबैमा हर्षको सीमा रहेन।दुबै भाई औंशीपछिका चन्द्रमा झै बढ्दै-हुर्कंदै गए।क्रिष्णले अद्भूत वाललीला प्रदर्शन गरे,राधा-गोपिनीहरुसंगको संयोगपछि यस धरातलमा रहने सबै पाणीहरुको मन-मस्तिष्कमा माया,मोह,ममता,प्रेमको जालो फिंजायिदिए जसको रसपान आज सबैले गर्न पाएका छन। बसुदेव गोकुलबाट छोरीलाई लिएर कारागारमा आऊंदा बित्तिकै बच्चा च्यां गरेर रोई,त्यसपछि सबै पालेहरु जराक-जुरुक उठे। यस रात भारी बर्षा भएर मथुरा जलम्मे हुनाका कारण पुतना कारागारमा आएकी थियिन। आठौं गर्ब छोरो हुने भनिएकोमा कसरी छोरी जन्मी,यो सबैलाई ज्यादै चांसोको बिषय भयो।कंस आएर त्यहां भएका सबैलाई धरपकट पारेर सोध्यो।पुतनाले ज्यान बचाउनका निम्ति छोरी जन्मेको मैले मेरा यी आखाले नै देखेकी हुं भन्दै झूट बोली।यसपछि कंशले बच्चीलाई देवकीको कोखबाट लुछेर ल्यायी ढुङ्गामा रीशले बेसरी छांट्न खोज्दा उक्त बच्चा आकाशमा उडेर बडो चमत्कारी ढंगले चतुर्वाहुरुपी एक देवीको रुप धारण गरेर भनिन--हे दुष्ट! मलाई मारेर तंलाई के पो मिल्छ र?तंलाई मार्नेवालाको यस धरतीमा कहिं-कतै जन्म भैसकेको छ।हिन्दु धर्मग्रन्थमा योगमाया यिनै हुन भनेर भनिएको पाईन्छ।


    कंशमा क्रिष्णप्रतिको रीश झन-झन बढ्दै गयो।राज्यभरी जन्मेका नवजात शिशुहरु सबैलाई मार्नभरी सेनालाई आदेश दियो।जताततै कोलाहल मच्चन थाल्यो,हत्या,हिंसा,दमन बढ्दै गयो।प्रजाहरु दिनप्रतिदिन असुरक्षित हुंदै गए,यसै बीच बालक क्रिष्णलाई मार्न भनेर पुतना,अकासुर,बकासुर,प्रलम्बासुर जस्ता भयङ्कर डरलाग्दा र शक्तिशाली राक्षशहरुलाई कंशले पठायो,तर उल्टै ती सबैलाई बालक क्रिष्णले मारिदिए।कंशको पापको घडा भरिंदै जान लाग्यो। एक पटक बलराम र क्रिष्णलाई बोलाएर मार्नभनी कंशले यौटा यज्ञको आयोजना गर्यो जहा शिवधनुष सजाएर राखिएको थियो।क्रिष्ण त्यस यज्ञमा आएपछि उक्त शिवधनुष भांचिदिए,उनीमाथि जायिलागेका कैयौं सैनिकहरुलाई दुबै भाई मिलेर बध गरिदिए।कंशको यो योजना सफल हुन सकेन। अर्को पटक ख्यातिप्राप्त पहलमानहरुलाई बोलाएर द्वन्दयुद्ध गराई बलराम र क्रिष्णलाई मार्नका निम्ति आफ्नो राजदरवार प्राङ्गणमा एक बिशाल भेलाको कंशले आयोजना गर्यो।बलराम र क्रिष्ण त्यहां आऊंदै गर्दा मूल ढोकामा मदिरा ख्वाएर राखिएको बलवान हात्तिलाई क्रिष्णले मारिदिए,द्वन्दयुद्धमा दुबै भाईले सबै पहलमानलाई परास्त गरेर मारिदिए।त्यसपछि त्यहां भयङ्कर युद्ध शूरु भयो।कंश लगायत उसका सबै सैनिकहरु मारिए।कंशबाट पीडित साराका सारा प्रजाहरुले क्रिष्ण र बलरामको चारैतिरबाट जय-जयकार गर्नलागे।देवकी र बसुदेवको कारागारबाट रिहायी भयो। उग्रसेनलाई कारागारबाट मूक्त गरेर राजसिंहाशनमा राखियो।मथुरा र गोकुलवासी सबै प्रजाहरुको अबदेखि सुख,शान्ति र खुशीका दिनहरुको उदय हुन गयो।यो समयमा क्रिष्ण भगवानको उमेर जम्मा ११ बर्षको थियो। क्रिष्ण स्वयंले यमुना नदीको पानी दुषित पार्ने कालीया नागसंग युद्ध गरेर परास्तगरी उसलाई त्यहांबाट लखेटेर नागलोक तिर पठाएका थिए


यसरी क्रिष्णबाट कैयौं दुष्ट र शक्तिशाली राक्षसहरुको बध गरेर लोककल्याणकारी काम हुंदै गयो।दुष्ट र अधर्मी कौरबहरु,राजा-महाराजहरु,भष्टाचारीहरु सबैलाई महाभारत युद्धमा मारेर साधु-सज्जनहरु,सन्त-महन्तहरु,ब्राह्मणहरु,धर्मपरायण पाण्डबहरुको रक्षागरी यस प्रिथ्वीमा धर्मको पुनस्थापना क्रिष्णबाटै भयो।हिन्दु धर्मग्रन्थहरु मध्ये सर्वश्रेष्ठ ग्रन्थ श्रीमद्भगवतगीताको प्रादुर्भाव श्रीक्रिष्णको मुखारबिन्दुबाटै भएको हो जसको सविस्तार अंश महाभारत युद्धताक अर्जुनलाई सबैभन्दा पहिले श्रवण गरायिएको थियो।गीता अहिलेसम्मको एकमात्र यस्तो हिन्दु ग्रन्थ हो जुन बिश्वका १०० भन्दा बढी भाषाहरुमा अनुवादित भैसकेको छ।सन्सारका कैयौं दार्शनिकहरुले निकट भबिष्यमा बिश्व हिन्दुमय हुनेछ भनी भविष्यवाणी गरेका छन।यसको श्रेयता हिन्दु धर्मग्रन्थहरु,हिन्दु संस्क्रिति-परम्परा,धार्मिक सहिष्णुता,आदिलाई जान्छ भन्ने धेरैको कथन छ। यस बर्षको क्रिष्णाष्ठमी पर्व बि,सं,२०७९(ई,सं, २०२२)भाद्र ३ गते(अगस्त महिनाको १९ तारीख)का दिन परेको बेहोरा हिन्दु पञ्चाङ्ग(हाम्रो पात्रो)ले जनाएको छ। 


  श्रीक्रिष्णलाई बिष्णु भगवानका प्रारुप भगवानका पनि भगवान हुन भनेर भनिन्छ।यस धरतीमा १२५ बर्षसम्म रही सिधा-साधा प्रजाहरुलाई शान्तिपूर्बक बस्न र बांच्न पाउने बातावरण सिर्जना गरिदिएर श्रीक्रिष्ण गोलोकधाम गए,त्यतिबेला उनले भनेका थिए-- म गएपनि धर्म श्रीमद्भागवत महापुराणमा रहने छ।त्यसैले त भन्ने गरिन्छ--भागवत,पुराणहरु,उप-पुराणहरु,उपनिषद,बेदहरु,आदि सबै श्रीक्रिष्णका बाङ्मय हुन।


   श्रीक्रिष्णाष्ठमी,जन्माष्ठमी अर्थात श्रीक्रिष्ण भगवानको जन्म भएको आजको यस दिनमा समस्त हिन्दु धर्मावलम्बीहरु बिहान सबेरै उठेर सरोवरमा गै स्नान,जप,ध्यान,आदि जस्ता प्रातकालीन कर्महरुबाट निब्रित्त भएर दिनभरी र मध्यरातसम्म भोकभोकै बसेर भगवानका नाममा भजन-कीर्तनगरी ब्रत,उपवास,गर्ने गर्दछन।रातीको ठीक १२ बजे जव श्रीक्रिष्ण भगवान जन्मेको समय हुन्छ,अनि भगवानको पूजा-अर्चना गरी धूप,दीप,आरती गरेर पण्डित तथा ब्राह्मणहरुलाई टीका लगाएर दान-दक्षिणा दियी उनीहरुलाई भोजन गराएर अनिपछि आफुलेपनि भोजनगरी ब्रत बिसर्जन गर्ने गरिन्छ। आफ्नो पूर्बजन्ममा घोर तपस्या गरेका हुनाले बसुदेव र देवकीले त्यस जन्ममा साक्षात भगवानलाई पुत्रको रुपमा जन्मदिन पाएका थिए,हामीले पनि यस दिन सच्चा भावले भगवतभक्ति गर्न सकियो भने भगवान जस्तै सन्ततीको जन्मदिन पाईन्छ भन्ने आम हिन्दु परम्परामा जनबिश्वास छ। अत: जगतपति क्रिष्ण भगवानको मानव रुपमा धरतीमा जन्म भएको आजको यस पावन दिनमा निस्काम भावले हामी सबैले पनि भगवतभक्ति गरेर भगवान जस्तै सन्ततीको जन्मदिन सकौं,यस धरातलमा शान्ति र सुखमय ढंगले सबैले जीउन पाउने अवस्थाको सिर्जनागर्न सकौं,यहि मङ्गलाचरण सहित सबैमा मेरो सादुभाव। अस्तु!


 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.