नागपञ्चमी पर्व र यसको पौराणिक महिमा

Everest Fuji News २०७९ श्रावण १८ मा प्रकाशित       Published at 2022 Aug 03


चक्रपाणि शर्मा गौतम


           वैदिक सनातन र हिन्दु पञ्चाङ्ग अनुसार प्रत्येक वर्षको श्रावणमास शुक्लपक्ष पञ्चमी तीथिका दिन सर्पहरुका राजा नागको पूजा-अर्चना गरेर नागपञ्चमी पर्व मनाईन्छ।भारत वर्ष अन्तर्गत पर्ने नेपाल,भारत, पाकिस्तान, बङ्गलादेश,भुटान,आदि जस्ता हिन्दु राज्यहरु र नेपाली जाति रहने संसारका अन्य मुलुकहरुमा पनि श्रावणमास पूर्णचन्द्र पक्षको पाचौं दिन नाग-नागिनीको तस्वीर निर्माण गरेर बिधिपूर्बक चन्दन,अक्षता,फुलपाती,दूवो,फलफूल,प्रसाद,आदि सभक्तिपूर्वक अर्पणगरी बडो श्रद्धाभावले पूजा गरेर नाग-नागिनीलाई खुशीपार्न सकेमा १२ ओटा राशीहरुबाट हुनसक्ने सम्भाब्य दोषादि मेटिन्छन, अतिब्रिष्टि,अनाब्रिष्टि,वाडि-पहिरो,अकाल म्रित्यु,भूकम्प,आदि जस्ता दैवी तथा आपत्कालीन विपत्तिबाट सुरक्षित रहन सकिन्छ भन्ने आम जनविस्वास छ। हिन्दु पञ्चाङ्ग(हाम्रो पात्रो)का अनुसार बि,सं, २०७९ साल(ई,सं २०२२)का लागि यस नागपञ्चमी पर्व साउन १७ गते मंगलवारका दिन(अगस्त महिनाको २ तारीख) परेको छ।


   नेपालको तराई देखि हिमाली भेकसम्म हरेक गाउं-टोलमा यस दिन पण्डितद्वारा रुद्री पाठ गराई नागको पूजनस्थलमा जलधारा सञ्चालन गराएर शिवजीको पूजा-आराधना गर्ने काम हुन्छ।चामलको पिठो र कपासद्वारा निर्मित नाग-नागिनी प्रतिमालाई छुट्टा-छुट्टै केराका पातमा विराजमान गराईन्छ।स्नान,जप-ध्यान,आदि जस्ता प्रातकालीन कार्यहरुबाट निब्रित्त भै सेता,चोखा,बस्त्र धारण गरेका कर्ताबाट विधिपूर्वक शिवजी र नाग-नागिनीको प्रतिमा आसपासमा काब्रो या पाख्रीको पातद्वार निर्मित १०८ दूनाहरुमा लावा,रोटी,खीर, जौ,तिल कुश,जनै-सुपारी,गाईको दूध-दही, अन्य प्रसाद राखेर ॐ अनन्ताय नम:। ॐ वासुकी नागाय नम:। ॐ कर्कोटकाय नम:। ॐ तक्षकाय नम:। ॐ शङ्खपालाय नम:। ॐ महापद्माय नम:। ॐ नीलाय नम:। ॐ कम्बलाय नम:। ॐ शेषाय नम:। ॐ कालीय नागाय नम:। ॐ नवकुल धिमाय नम:। ॐ सवेभ्यो,ज्ञातेभ्यो,अज्ञातेभ्यो,नाग-नागिनी देवी-देवताभ्यो नम:।भनेर मन्त्रोच्चारण गर्दै चढाउने काम हुन्छ।नागपञ्चमीका दिन यस नाग पूजनस्थल मात्र नभएर सबै घरहरु भित्र-वाहिर सर-सफाई गरेर सफा,राम्रो,चोखो र पवित्र पारिन्छ।नाग पूजन कार्य सकिएपछि सबैलाई टीका लगाउने काम,कन्याहरुलाई टिका लगाएर दक्षिणा दिने काम, प्रसाद् बितरण गर्ने काम,आदि सम्पन्न गरिन्छ, तत्पश्चात पण्डितद्वारा अभिमन्त्रित नागदेवताका फोटाहरु बिधिपूर्बक आ-आफ्ना घरका मूल ढोकामा रीतपूर्बक टांसेपछि नागपूजा सम्बन्धिको सबै कार्य विसर्जन भएको हुन्छ,तर ब्रत,उपासना गर्नेहरुले भने बेलुका सांझ परेर दूप,दीप,आरती, आदि गरेपछि मात्र भोजन ग्रहण गर्ने गर्दछन र त्यसपछि सबैले भोजन गर्ने-गराउने काम हुन्छ।कतीपय समुदायमा यस दिन खसी,बोका काटेर भोग दियी नागको पूनागर्ने चलन पनि हुन्छ,तर यो चलन शास्त्रसम्मत नभै मानिसहरुले आफ्नो निजी स्वार्थपूर्तिका लागि मात्र चलाउंदै आएको कुरा ब्रिद्ध-ब्रिद्धाहरुले बताउंछन।सर्पहरुका राजा नागलाई हिन्दुहरुले देवतासमान मानेर पूजागर्ने चलन छ।                                                      

 नागपञ्चमीका दिन नागदेवताको पूजनस्थलमा सम्पूर्ण सामाग्रीहरुको तयारी पूरा भएपछि पूजन कार्यको थालनी गर्नुभन्दा पहिले मुख्य कर्ताले मङ्गलाचरण स्वरुप केही समय ध्यान गर्दै यी मन्त्रहरु मनमनले जप-आराधना गर्ने गरिन्छ---

                                                                                  कर्पुर गौरम् करुणावतारम्,संसार सारम् भुजगेन्द्र हारम्।

                                                                                 सदा बशन्तम् ह्रिदया र ब्रिन्दे, भवम् भवानी सहितम् नवामी।।

                                                                                त्वमेव माता च पिता त्वमेव,त्वमेव बन्धु च सखा त्वमेव।

                                                                               त्वमेव बिद्या द्रविणम् त्वमेव,त्वमेव सर्बम् ममदेव देव।।

     अस्तिकस्य मुनेर्मातर्जगदानन्द कारिणी।

      एह्येहि मनसे देवी नागमातर्नमोस्तुते।।

     अनन्त वासुकी शेष पद्मनाभं च कम्बलम्।

     शंखपालं धार्त राष्ट्रं तक्षकं कलियं नम:।।

                                                                            नाग प्रीता भवन्ति शान्तिमाप्नोति बिया विबो:।

                                                                           सशान्ति लोक मा साध्य मोदते सस्थित सम:।।

                                                                           एतानि नव नामानि नागानाम् च महात्मन:।

                                                                          सायंकाले पठेन्नित्यं प्रात:काले विशेषत।।

                                                                          तस्य विषभयं नास्ति सर्बत्र विजयी भवेत्।।                                                     

 सर्पहरुका राजा नागको पूजाको महत्व र शुरुवात वारे हिन्दु धर्मशास्त्रहरुमा धेरै किसिमका कथनहरु भेटिन्छन।सत्ययुगमा देवता र दानव मिलेर वासुकि नागको नेति बनाएर समुन्द्र मन्थन गरी अनेकानेक महत्वपूर्ण बस्तुहरु प्राप्त भएको तथ्य पुराणहरुमा उल्लेख भएको पाईन्छ।द्वापरयुगमा श्रीक्रिष्णले यमुना नदीको पानीलाई दुषित बनाउने कालीया नागसंग युद्ध गरेर परास्तगरी कालिया नागका सबै परिवारलाई त्यहांबाट लखेटेर नागलोकमा गएर बस्नभनी पठाएको प्रसङ्ग पनि हाम्रै शास्त्रमा पाईन्छ।सुप्रसिद्ध हिन्दु पाचिन ग्रन्थ महाभारतका अनुसार ब्रह्मपुत्र कश्यप ऋषिले दक्षप्रजापतिका कदरु र बिनता नाम गरेका दुईटी छोरीलाई विवाह गरेछन।कदरुले नागे वर्णको सन्तान जन्माईछन जुन आधा मानव र आधा सर्प रुपका थिए। पुरुष नागलाई नागराजा र स्त्री नागलाई नागिनी भनिने गर्थ्यो।यता अर्की पत्नी विनताले भने अरुण र गरुढलाई जन्म दियिन। अरुण सूर्य भगवानका सारथी भए भने पंक्षीराज गरुढ बिष्णु भगवानका वाहक भए।गरुढपुराण,अग्निपुराण,नारदपुराण,स्कन्दपुराण,ब्रह्मवैबर्तपुराण,प्राचिन महाभारत,आदिमा सर्पहरुका राजा नाग-नागिनीको पूजा-अर्चना वारेमा विस्त्रित बर्णन गरिएको छ।महाभारतका अनुसार राजा परीक्षितलाई स्रिङ्गी ऋषिबाट ७ दिनका दिन तक्षक नागले डसेर म्रित्युहुने भनी श्राप परेपछि परिक्षितका छोरा जनमेजयाले पिताको म्रित्युको बदला लिनभनी यस धरतीका सम्पूर्ण सर्पहरु र तक्षक नागलाई समेत मार्न भनेर महामुनी वैशंपायनद्वारा एक विशाल सर्पयज्ञको आयोजना गरे।त्यस यज्ञमा ख्यातीप्राप्त ब्राह्मणहरुको वेदध्वनी गुञ्जीरहेको हुन्थ्यो।चारैतिरबाट सर्पहरु आऊंदै उक्त यज्ञकुण्डमा होमिने गरेका थिए।लाखौं सर्पहरु होमनकुण्डमा जल्दै जानाले त्यहां वरिपरिको वातावरण डूङ्डूङ्ती गह्नाउने दूर्गन्धित भैरहेको थियो।तक्षक नागले आफु सुरक्षासङ्कटमा परेको ठानेर जीवन रक्षाका लागि देवराज ईन्द्रसंग गुहार माग्न पुगे। ईन्द्र आएर त्यहां यज्ञ रोक्नका निम्ति हर प्रयास त गरे,तर यज्ञ रोक्न उनको शक्ति पुगेन।स्थिति झन भयाबह हुंदैगयो,धरतीका सर्पहरु जति सबै सखाप हुंदै गए।तक्षक नाग र देवराज ईन्द्र समेत शक्तिशाली त्यस यज्ञको घेराबन्दि हुन पुगे।त्यसपछि देवराज ईन्द्रले तक्षक नागकी बहिनी मनसादेवीलाई आफुहरु दुबै सङ्कटमा परेको जानकारी गराए।मनसादेवीले आफ्नो महामुनी छोरा अस्तिकलाई जनमेजय सामु गएर यज्ञ रोक्न बिन्ति चढाउन भनिन। अस्तिक मुनी एक सादु ब्राह्मण भेषमा त्यस सर्पयज्ञ परिसरको ढोकामा गएर स्तुति,बन्दना, गर्न थाले।राजा जनमेजय यिनको स्तुतिबाट प्रशन्न भएर याचक सामु आयी वरदान माग्न भने। अस्तिक ऋषिले सर्पयज्ञ रोक्ने वरदान मागे।धर्मपरायण र ब्राह्मणभक्त जनमेजयले तथास्तु भनी तत्काल सर्पयज्ञ रोक्ने आदेश समेत दिए,उक्त सर्पयज्ञ रोकियो।यस धरतीमा बांकी रहेका सबै सर्पहरु र तक्षक नागको समेत ज्यान जोगियो,यो घटना सर्पहरु र तक्षक नागका निम्ति ज्यादै महत्वपूर्णको हुनगयो।यो दिन श्रावणमास शुकपक्षको पञ्चमी तीथिको दिन थियो।सर्पहरु र मानव जीवनको पारस्परिक सम्बन्धलाई अरु मज्बूद मनाउंदै लैजाने अभिप्रायले त्यसै समयदेखि नागको पूजागर्ने चलनको थालनी यस धरतीमा भएको हो भन्ने शास्त्रीय कथन छ।

  हिन्दु धर्मशास्त्रमा नाग देवताको महत्व र महिमा अपार भएको बतायिएको छ।यस दिन नाग मन्दिरहरु र शिव मन्दिरहरुमा शिवजी र नाग देवताको धुम-धामका साथ पूजा-अर्चना गरिन्छ। श्रीहरि(बिष्णु भगवान)स्वयं नागशैयामा शयन गर्नुहुन्छ,नागछत्रबाट सुशोभित पनि हुनुहुन्छ।श्रावण महिना शिवजीको पूजा-आराधना गर्ने महिना हो।नाग पञ्चमीका दिन शिवजीलाई आराध्यदेव मानेर नाग देवताको पूजा गर्ने गरिन्छ। देवादिदेव महादेवलाई कालका पनि काल अर्थात महाकालेश्वर हुन भनेर भन्ने गरिन्छ।शिवजीले पनि आफ्नो गलामा नागको माला धारण गर्न स्वीकार गरेका छन।नागको सेवा र पूजा-आराधना गर्नाले शिवजी पनि अति सन्तुष्ट हुन्छन भनेर भनिएको छ।सर्पहरु जीव-जन्तुहरु मध्ये ज्यादै ईख लिने जनावरहरुमा पर्दछन भनेर भनिन्छ।तर नगिज्याउने र नजिस्क्याउने हो यदि भने धेरैजसो सर्पहरुले मानिसलाई डस्दैनन भनेर पनि भन्ने गरिन्छ।समग्रमा सर्पहरु मानव जातिका लागि लाभदायक प्राणीहरु मानिन्छन। आकस्मिक भय,त्रास,दैवी बिपत्ति,आदिबाट जोगिनका निम्ति नागजातिको सेवा-पूजा गर्न अति आबश्यक मानिएको छ। यस धरतीमा अद्रिष्यरुपले रहेको बैभव,धन-दौलतको सुरक्षा नाग देवताले गरिरहेका हुन्छन।भगवान बिष्णु धरतीमा अवतार लिंदा आफ्नो साथमा नाग देवताको अवतार पनि कहिल्यै छुटाऊंदैनन।नाग देवतालाई सम्पत्तिका मालीक भनेर पनि भन्ने गरिन्छ।नाग देवताको सेवा गर्नाले लुकेर रहेको सम्पत्ति हातपार्न सकिन्छ भन्ने लोकोक्ति छ। द्वापरयुगताक ईन्द्रस्पथको जमीनमुनी छिपाएर राखिएका सौर्णमयी, लडाईंमा प्रयोग गरिने शक्तिशाली प्राचिन हात-हतियारहरु,सुन तथा चांदिका असर्फीहरु,थुप्रै धन-दौलत रहेको धुकुडी,आदिको पहरा कालियानागले गरिरहेका थिए।त्यतिबेला कौरब र पाण्डबहरु बीच अंशबण्डा गर्दा ईन्द्रस्पथ पाण्डबहरुको भागमा परेको थियो।श्रीक्रिष्णले देवराज ईन्द्र द्वारा त्यहां पहरा गरेर बसिरहेका कालीयानागलाई हटाउन लगाएर त्यस ठाउंमा रहेको सबैथोक पाण्डबहरुलाई दिलाएका थिए भन्ने कुरा हिन्दुहरुको सुप्रसिद्ध प्राचीन ग्रन्थ महाभारतबाट अबगत हुन्छ। कतीपय नाग देवताहरुले आफ्नो टाऊकोमा बहुमूल्य बस्तु मणी धारण गरेका हुन्छन। यस्ता नाग देवताहरुको सेवा,पूजा गरेर उनीहरुलाई प्रशन्न पार्न सकियो भने उक्त मूल्यवान मणी प्राप्त गरेर लाभान्वित हुन पाईन्छ भन्ने हिन्दु समाजमा जनविश्वास छ। नाग राजाको पूजागर्ने नागपञ्चमीका दिन जमीन खनजोत नगर्ने,बोटबिरुवा नकाट्ने,सियोले सिउने,उन्ने काम नगर्ने भन्ने धार्मिक विधानमा उल्लेख गरिएको छ। अत: हिन्दुहरु मात्रका निम्ति पौराणिक गरिमा बोकेको यस नागपञ्चमी पर्वले सम्पूर्ण हिन्दु धर्मावलम्बी बन्धुहरुमा सुख,सम्ब्रिद्धि,आरोग्य,ऐश्वर्य, छायिदिन सकोस,प्रचलित रीति-रिवाज र परम्परागत चाल-चलन सबैबाट आत्मसाथ हुन सकोस,यहि नै यस सन्दर्भमा मेरो तर्फबाट सादुभाव। अस्तु!



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.