नेपालका नेताहरुका छोराछोरी बाउको पद भजाएर खान व्यस्त रहन्छन् । अझ मन्त्री र प्रधानमन्त्रीका छोराछोरीको शानै बेग्लै हुने गरेको छ। तर, विश्व शक्ति अमेरिकाका राष्ट्रपति बाराक ओबामाको छोरीको काम भने अनुकरणीय छ ।
उनका पिता विश्वकै शक्तिशाली मुलुकका राष्ट्रपति हुन् । उनी व्हाइट हाउसमा सुखसुविधाका साथ बस्छन् । तर, उनकै छोरी साशा ओबामा भने व्हाइट हाउसको ऐशआराम छोडेर एउटा रेष्टुरेन्टमा वेटरको काम गरिरहेको धेरैले नपत्याउन पनि सक्छन् ।तर, १५ वर्षीया साशा गर्मी विदामा म्यासाचुसेट्सको मार्था वाइनयार्डको एउटा रेष्टुरेन्टमा काम गरिरहेकी छन् । रेष्टुरेन्टमा उनी वेटरको काम गरिरहेकी हुन् ।
बोस्टन हेराल्डका अनुसार साशा (जसको पूरा नाम नताशा हो) का साथमा रेष्टुरेन्टमा उनको सुरक्षाका लागि खुफिया विभागका ६ जना एजेन्ट पनि आउने गर्दछन् ।
ओबामा परिवार गर्मी विदामा सधैजसो यो सहरमा आउने गर्दछ । तस्वीरमा राष्ट्रपति ओबामाकी कान्छी छोरी साशालाई रेष्टुरेन्टको वेटरका आधिकारिक पोसाक निलो टिश सर्ट र क्यापमा रिसेप्सनमा काम गर्दै गरेको देख्न सकिन्छ ।
साशाका साथमा काम गरिरहेका कर्मचारीले हेराल्ड पत्रिकासँग भने–उनी तल्लो फ्लोरमा काम गर्छिन् । हामी त चकित थियौ, जब उनी यो काममा आउँछिनतब उनका साथ ६ जना पनि साथमा किन आउँछन् ? पछि थाहा भयो कि उनीहरु को हुन् ।
व्हाइट हाउसले साशाको कामका बारेमा कुनै टिप्पणी गरेको छैन । तर मिशेल ओबामा सधैं भन्ने गर्छिन् कि उनी आफ्ना छोरीहरुलाई सामान्य तरिकाले हुर्काउन चाहन्छिन् ।
टेक अवे काउन्डरमा काम गर्नुका साथै साशाको काम टेबुलमा ग्राहकलाई भोजन पुराउनु र लञ्चका समयमा रेस्टुरेन्टलाई ठिक गर्न सहयोग पनि गर्नुपर्ने हुन्छ ।
साशाभन्दा पहिला उनकी दिदी मालियाले फिल्मको सेटमा दुईपटक इन्टर्नशिप पनि गरेकी थिइन् ।
पश्चिमी मुलुकहरुमा ठुला हस्तीहरुका सन्तानलाई यसप्रकारको काम गर्नु कुनै नयाँ कुरा होइन । डेभिड र भिक्टोरिया बेकहमका छोरा ब्रुकलिन बेकहम लण्डनमा फिल्म मेकर गाय रिचीको कार्यालयमा काम गरिसकेका छन् ।