न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । तेल प्रशोधन कम्पनीहरूको सुदृढ मार्जिन र अमेरिकी गल्फ कोष्टस्थित प्रशोधन कम्पनीहरू पुनः सञ्चालनमा आएपछि बुधवार तेलको भाउ बढेको हो । उता, क्यारेबियन क्षेत्रमा इर्मा नामक आँधी देखा पर्न शुरू भएकाले पुनः आपूर्ति अभाव हुने आशङ्काले तेलको भाउ बढाएको हो । उक्त दिनको बिहानी कारोबारमा ब्रेण्ट क्रुडको भाउ प्रतिब्यारेल २८ सेण्टले बढी ५३ डलर ६६ सेण्ट कायम भएको थियो ।
उता, वेष्ट टेक्सास इण्टरमिडियटको भाउ १५ सेण्टले बढी प्रतिब्यारेल ४८ डलर ८१ सेण्ट पुगेको थियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ साढे ६ बजे ब्रेण्ट क्रुडको भाउ ९३ सेण्ट अर्थात् १ दशमलव ७२ प्रतिशतले बढेर प्रतिब्यारेल ५४ डलर २७ सेण्टमा पुगेको थियो । उता, सोही समयमा डब्ल्यूटीआईको भाउ पनि ५८ सेण्ट अर्थात् १ दशमलव २१ प्रतिशतले बढेर ४९ डलर १६ सेण्टमा पुगेको थियो ।
‘कच्चा तेलका लागि हार्भे आँधी बियरिश थियो र सट्टेबाजहरू डब्ल्यूटीआईको कारोबारमा ‘शर्ट’ पोजिशनमा रहे, तर अहिले हार्भेपछि उनीहरूको पोजिशन उल्टिएको छ । बलियो मार्जिनले कच्चा तेलको भाउलाई टेवा दिन मद्दत गरेको छ, ग्यासोलिन पनि यस वर्षकै उच्च विन्दुमा छ,’ परामर्शदाता निकाय पेट्रोम्याक्सका ओलिभर ज्याकोबले भने । हार्भेका कारण १० दिनअघि बन्द रहेका थुप्रै तेल प्रशोधन केन्द्र, पाइपलाइन र बन्दरगाहहरू बिस्तारै खुलिरहेका छन् ।
मङ्गलवारसम्म दैनिक ३८ लाख ब्यारेल अर्थात् अमेरिकाको कुल प्रशोधन क्षमताको २० प्रतिशत हिस्सा ओगट्ने प्रशोधन केन्द्र ठप्प थिए । आँधी उत्कर्षमा रहँदा भने प्रशोधन केन्द्रका ४२ लाख ब्यारेल क्षमता प्रभावित थिए । अहिले लगानीकर्ताहरूको ध्यान इर्मा नामक आँधीमा केन्द्रित छ । क्यारेबियन र लोरिडातर्पm मडारिइरहेको यो आँधी बुधवार बिहान उत्तर पूर्वी क्यारेबियनको टापुमा आइपुगेको थियो । यसले अन्य रिफाइनरी बन्द गर्न सक्ने र इन्धन अभाव उत्पन्न गराउन सक्ने अनुमान गरिएको छ । एजेन्सी