बाढीपहिरोबाट कृषि क्षेत्रमा ८ अर्ब क्षति, राहत प्याकेज चाँडै : मन्त्री

Everest Fuji News २०७४ भदौ १ मा प्रकाशित       Published at 2017 Aug 17


काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको बाढी पहिरोलगायतको प्राकृतिक विपदबाट कृषि क्षेत्रमा ८ अर्ब ११ करोड रुपैयाँबराबरको क्षति भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता डा. योगेन्द्र कुमार कार्कीले सबैभन्दा बढी प्राकृतिक विपदबाट धानमा ३ अर्ब १८ करोड रुपैयाँको क्षति भएको बताए । उनका अनुसार धान रोपाइँ भएको ४७ हजार २२६ हेक्टर क्षेत्रफल डुबान भएको छ । जसबाट १ लाख ५९ टन धान क्षति हुने अनुमान छ । धान प्रतिकिलो २० रुपैयाँको दरले हिसाब गर्दा यो आँकडा आएको हो । “तरकारी २ अर्ब ९६ करोड रुपैयाँको, माछा ८० करोड, दलहन ५३ करोड, मकै २४ करोड, केरा ३ करोड, तेलहन ९२ लाख, बदाम २९ लाख र बेसार ३ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ,” उनले भने । मन्त्रालयका अनुसार मुलुकभर २ लाख ७२ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन प्रभावित भएको छ । खेती भएको जमिनमध्ये ७८ हजार ५ सय हेक्टर जमिनमा क्षति पुगेको छ । त्यस्तै, विभिन्न बाली तथा वस्तुको उत्पादनमध्ये ३ लाख ८६ हजार टन क्षति भएको मन्त्रालयको अनुमान छ । कार्यक्रममा कृषि विकास मन्त्री रामकृष्ण यादवले निकट भविष्यमा नै राहतको प्याकेज ल्याउने जनाए । “मन्त्रालयको क्षमतामा हुन्छ कि अर्थ वा प्रधानमन्त्री राहत कोषबाट माग गरेर हुन्छ, यथाशिघ्र कृषि क्षेत्रमा भएको क्षतिको लागि राहत प्याकेज ल्याइनेछ,” उनले भने । ऋण मिनाहा, निःशुल्क विउ वितरण, माछा पोखरी निर्माण आदिमा राहत दिन सकिने उनले बताए । कुन क्षेत्रमा कति क्षति ?  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.