
म्याग्दी, साउन २६ – आर्थिक वर्ष २०७३/७४ मा राहदानी दस्तुरबाट एक करोड ४३ लाख ४७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार त्यस अवधिमा संस्था दर्ताबाट दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट २९ हजार, न्यायिक दस्तुरबाट २६ हजार र परीक्षा शुल्कबाट आठ हजार संकलन भएको थियो ।
गएकाे आवमा चार हजार ५१ राहदानी सिफारिस भएकामा द्रुत सेवातर्फ एक हजार ४५६ र सामान्यतर्फ दुई हजार ५९५ वटा राहदानी सिफारिस गरिएको थियो । सामान्य राहदानीका लागि प्रतिराहदानीबापत पाँच हजार राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने व्यवस्था छ । द्रुत सेवाको राहदानीको दस्तुर परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।