काठमाडौं । आज सोमबारदेखि व्यवस्थापिका–संसदमा बजेट अधिवेशन सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आव्हानको लागि पठाएको पत्र वाचन गर्दै छलफल सुरु भएको छ।
बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४/७५ को बजेट समेत पेस गरिनेछ। ‘मंगलबार आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा छलफल हुनेछ’ प्रवक्ता गौतमले भने।
जेठ ११ गते राष्ट्रपति भण्डारीबाट आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम पेस गरिनेछ। जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ। कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट पेस गरिनेछ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेको छ।
राजनीतिक सहमति नजुट्दा अहिलेको बजेट कामचलाउ आकारको हुने सरकारी भनाइ छ। तर बजेट तयारी भने नियमित आकारकै भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। जेठ १५ गतेभित्र कसैगरी पनि बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भएकोले त्यतिबेलासम्म राजनीतिक सहमति जुटहाल्छ कि भनेर आफूहरु पूर्ण बजेटको तयारीमा लागेको स्रोतले जनाए।
‘सरकारले दलीय जुटाएर संविधानले तोेकेको मितिभित्र पूर्ण बजेट आउला भन्ने हाम्रो आशा छ’ अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले भने, ‘हामी कर्मचारी त्यही अनुसार तयारीमा छौं।’
त्यसो त संविधानले कामचलाउ वा पूर्ण भनेर बजेटको वर्गीकरण नगरेकोले पनि पूर्ण बजेट नै आउने बताइएको छ।
राष्ट्रिय योजना आयोग स्रोतका अनुसार प्रस्तावित बजेटमा राष्ट्रिय महत्वका सबै ठूला आयोजनाले विशेष प्राथमिकता पाएका छन्।