२ लाख १५ हजार मेट्रिकटनभन्दा बढी कच्चा पदार्थ रोकियो -
वैशाख २४, वीरगञ्ज । सिमेण्टको अत्यधिक माग हुने समयमै अधिकांश स्वदेशी सिमेण्ट उद्योगले उत्पादन बन्द गर्नुपर्ने अवस्था आइपरेको छ । कच्चा पदार्थको अभावमा कतिपय उद्योगले उत्पादन बन्द गरिसकेको बताएका छन् । भारतीय रेल्वेले रेल्वे ट्राफिक व्यवस्थापनका नाममा ¥याक उपलब्ध नगराउँदा यस्तो समस्या आएको हो । रेल्वे जाम बढेको भन्दै करीब डेढ महीनायता र्याकमा कडाई गरिएको छ ।
ग्राण्डिङ युनिटमा आधारित अधिकांश उद्योगले अहिले यो समस्या झेलिरहेको उद्योगीहरूले बताए । ‘कति उद्योगले त उत्पादन बन्द गरिसके,’ एक उद्योगीले भने, ‘कच्चा पदार्थ नै नभएपछि अर्को उपाय भएन ।’ भारतीय रेल्वेले क्लिङ्कर ढुवानी नगरिदिँदा कतिपय उद्योगको उत्पादन ठप्प भइसकेको उद्यमीहरूले बताएका छन् । माघदेखि असारसम्म निर्माण कार्य बढी हुने भएकाले यो बेला सिमेण्टको माग पनि बढी हुन्छ । तर, यही समयमा नै स्वदेशी उद्योगले क्लिङकरको अभावमा चाहेजति उत्पादन गर्न नपाएको नारायणी सिमेण्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए । केही उद्योगले जसोतसो कच्चा पदार्थको प्रबन्ध मिलाए पनि अधिकांश उद्योगको उत्पादन प्रभावित भएको छ ।
मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारको तथ्याङ्कले पनि कच्चा पदार्थको आयात स्वात्तै घटेको देखाएको छ । बितेको चैत १५ देखि ३१ गते र वैशाख १ देखि १५ गतेसम्मको तुलनात्मक आयात परिमाणले यसको पुष्टि गरेको छ । वीरगञ्ज भन्सार प्रमुख सेवन्तक पोखरेलले सरोकारका सबै कच्चा पदार्थको आयात घेटेको बताए । चैत १५ देखि ३१ गतेभित्र यो नकाबाट १ लाख ६३ हजार ३ सय ५० मेट्रिकटन क्लिङ्कर आयात भएकोमा त्यसपछिको १५ दिनमा यो परिमाण २६ हजार ५ सय मेट्रिकटनमा सीमित भएको छ । यो समीक्षा अवधिको तुलनामा १ लाख ३६ हजार ८ सय ५० मेट्रिकटनले न्यून हो,’ उनले भने ।
जिप्सम र स्ल्याग र कोइलाको आयात पनि उल्लेख्य परिमाणले घटेको छ । अघिल्लो अवधिमा १४ हजार ५२ मेट्रिकटन जिप्सम आयात भएकोमा पछिल्लो १५ दिनमा ७१ मेट्रिकटनमात्र भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ । खरानी स्ल्यागको आयात ५ हजार ७ सय ५० मेट्रिकटनले घटेको छ । कोइलाको आयात पनि ठूलो परिमाणले घेटेको देखिन्छ । चैत महीनाको समीक्षा अवधिमा ४६ हजार ८ सय ५ मेट्रिकटन कोइला आयात भएको छ । वैशाख १ देखि १५ गतेसम्ममा यो परिमाण १ हजार ३ सय ६४ मेट्रिकटनमा सीमित भएको छ ।
जसोतसो चलेका उद्योग पनि पूर्णक्षमतामा चल्न सकेका छैनन् । क्लिङ्कर सिमेण्टको मुख्य कच्चा पदार्थ हो । क्लिङ्कर प्लाण्ट सञ्चालनमा ल्याएका उद्योगले सीमित परिमाणमा उत्पादन गरे पनि ग्राण्डिङमा आधारित उद्योगहरू नराम्ररी प्रभावित भएका छन् । चलेका उद्योग पनि अत्यन्तै न्यून उत्पादनमा सीमित भएको एक उद्योगीले बताए । त्यस्ता उद्योगले ढुवानी अवरोधका कारण कोइला आयात गर्न नपाएपछि आवश्यकताअनुसार क्लिङ्कर उत्पादन गर्न पाएका छ्रैनन् । ४८ ओटा स्वदेशी उद्योगमध्ये १४ ओटाले मात्र आफैं क्लिङ्कर उत्पादन गर्छन् । अन्य उद्योग आयातित क्लिङ्करको भरमा चलेका छन् ।
कच्चा पदार्थको कुल खपतमध्ये अधिकांश परिमाण भारतबाट आयात हुन्छ । बढी परिमाण आयात हुने रेल्वेको रक्सौल यार्डमा जाम भएको भन्दै रेल्वेले मागअनुसार ¥याक उपलब्ध गराएको छैन् । भारतीय रेल्वेले करीब डेढ महीनादेखि न्यून परिमाणमा ¥याक दिएकाले औद्योगिक कच्चा पदार्थको आयात प्रभावित भएको आयातकर्ता माधव राजपालले बताए । अहिले वीरगञ्ज नाकासँग जोडिएको रक्सौलमा दैनिक ३ ओटा ¥याक अनलोड भइरहेको छ । सामान्य अवस्थामा यो नाकाका लागि १५ ओटासम्म ¥याक बाटोमा रहने गरेका थिए । अहिले ५÷६ ओटा देख्नेबित्तकै रेल्वेले लोडिङ रोक्ने गरेको आयातकर्ताले बताएका छन् । यसले भारतबाट आउने क्लिङ्करको ढुवानी प्रभावित भएको छ ।
निर्माण कार्यमा प्रयोग हुने अन्य सामग्रीको तुलनामा सिमेण्टको खपत अत्याधिक हुने उद्योगीहरु बताउँछन् । ‘खपत बढी हुने भएपछि यो बेला माग पनि बढी नै हुन्छ । तर, कच्चा पदार्थको अभावमा उत्पादन गर्न पाइएको छैन,’ एक उद्यमीले भने । निर्माण कार्यमा फलामको तुलनामा सिमेण्टको खपत १० गुणा बढी हुने ती उद्योगीको अनुमान छ ।
श्री समेण्ट्स इण्डष्ट्रिजका प्रबन्ध निर्देशक अनिलकुमार अग्रवालले कच्चा पदार्थको ढुवानी प्रभावित भएको बताए । ‘यो निर्माण सामग्री बढी खपत हुने बेला हो । तर, यही बेला चाहिएजति कच्चा पदार्थ ल्याउन पाइएको छैन,’ अग्रवालको भनाइ छ । उद्योगी राजेश क्याल स्वदेशी उद्योगले वर्षेनी यो समस्या भोग्दै आएको बताउँछन् । वर्षेनी सिमेण्टको माग बढिरहेकाले कच्चा पदार्थको आयातको चाप पनि बढेको उनले बताए । ‘तर, रेल्वेले पूर्वाधार अद्यावधिक नगर्दा आयातकर्तालाई मार परेको छ,’ क्यालको भनाइ छ । पश्चिम नेपालका भैरहवा र नेपालगञ्जका आयातकर्तालाई दोहोरो मार परेको छ । भारतको सीमावर्ती उत्तर प्रदेशमा ढुवानीको तौलको मापदण्ड लगाएपछि कच्चा पदार्थका ढुवानीमा थप समस्या भएको उनीहरूले बताए ।
कच्चा पदार्थको जोहो गरेका उद्योगले समेत पूर्णक्षमतामा उद्योग चलाएका छैनन् । नारायणी सिमेण्ट उद्योगका महाप्रबन्धक ठाकुरले अघिपछि पूरा क्षमतामा सञ्चालन हुने आफ्नो उद्योग अहिले ६०÷६५ प्रतिशतमा सीमित भएको गुनासो गरे । अयातकर्ता राजपालले तेस्रो मुलुकबाट आयातित कोइला, जिप्सम, फलामलगायतका कच्चा पदार्थसमेत हल्दिया बन्दरगाहकै थन्किएको बताए । ¥याक उपलब्ध नभएपछि २ लाख १५ हजार मेट्रिकटनभन्दा बढी कच्चा पदार्थ रोकिएको अयातकर्ताले बताएका छन् ।