पत्रकारलाई ७.५ लाखको बिमा

Everest Fuji News २०७४ बैशाख २२ मा प्रकाशित       Published at 2017 May 05


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १७ औं वर्ष प्रवेशका अवसरमा आर्थिक पत्रकारलाई साढे ७ लाख रुपैयाँको नि:शुल्क जीवन बिमा गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक पत्रकार समाज (सेजन) मा आबद्ध २ सय ५४ पत्रकारलाई एक वर्षका लागि उक्त सुविधा प्रदान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । बिहीबार राजधानीमा आयोजित ‘स्मार्ट लाइफ जीवन बिमालेख हस्तान्तरण कार्यक्रम’ मा झाले उक्त बिमालेख सेजनलाई हस्तान्तरण गरेका छन् । यो बिमालेखअन्तर्गत सामान्य कारणले मृत्यु भएमा आर्थिक पत्रकारहरूले २ लाख ५० हजार, दुर्घटनापछि मृत्यु भएमा थप २ लाख गरी ५ लाख र दुर्घटनाबाट दीर्घकालीन रूपमा अशक्त भएमा साढे २ लाख रुपैयाँ भुक्तानी पाउँछ । दीर्घकालीन रूपमा अशक्तलाई प्रदान गरिने साढे २ लाख रुपैयाँलाई कम्पनीले मासिक रूपमा विभाजन गरी किस्तामा भुक्तानी गर्नेछ । यसरी भुक्तानी गर्दा विमितले १० वर्षसम्म मासिक २ हजार ८३ रुपैयाँ प्राप्त गर्ने कम्पनीले बताएको छ । यो बिमालेखले स्वास्थ्य उपचार खर्च नसमेट्ने कम्पनीले स्पष्ट पारेको छ । ‘स्मार्ट हुनुहोस्, जिम्मेवार बन्नुहोस्’ भन्ने मूल नारा रहेको ‘स्मार्ट जीवन बिमा’ योजना कम्पनीको नयाँ ‘प्रडक्ट’ हो । यो योजनाअन्तर्गत दैनिक १० रुपैयाँमा १० लाख रुपैयाँसम्मको जीवन बिमा हुने कम्पनीले जनाएको छ । यसले हरेक तहका मानिसहरूलाई जीवन बिमामा समेट्ने भएकाले यो क्षेत्रको दायरा विस्तारमा महत्त्वपूर्ण सहयोग पुग्ने कम्पनीले दाबी गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.