'चिनियाँ रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव'

Everest Fuji News २०७४ बैशाख १६ मा प्रकाशित       Published at 2017 Apr 29


काठमाडौ : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको 'वान बेल्ट वान रोड' अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताउनुभएको छ । चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भन्नुभयो, 'प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्रस्ताव राख्नुभएको छ । हामी चीनको यो अवधारणामा सहभागी भएर लाभ लिन चाहन्छौं।' चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड अवधारणाअनुसार चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य छ । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाउनुभएको थियो । अर्थमन्त्री महरा एक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीनले वैशाख ३१ र जेठ १ मा बेइजिङमा आयोजना गर्ने बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागी हुन जाने तयारी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । महराको भ्रमणमा नेपाल बेल्ट एन्ड रोडको सदस्य बन्नेसम्बन्धी चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो भइनसकेको अधिकारीहरूले उल्लेख गरेका छन् । कार्यक्रममा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपालले बेल्ट एन्ड रोड अवधारणाको सदस्य बनेर पर्याप्त लाभ लिनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो 'नेपाल, भारतलगायत दक्षिणएसियाका मुलुकले यो अवधारणामा सहभागी भई लाभ लिन सक्छन् तर यसको ठ्याक्कै ब्लुप्रिन्ट बाहिर आएको छैन । नेपाल ओबीओआरको नक्सामा कतै देखिँदैन ।' चीनको सिचुवान विश्वविद्यालयका प्राध्यापक दाइ योङहोङले बेल्ट एन्ड रोड अवधारणामा नेपाल चाँडै सदस्य बन्न लागेकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, 'चीन र एसियाबीचको जमिनबाट हुने व्यापारका लागि नेपालले पुलको काम गर्न सक्छ ।'प्राध्यापक दाइले भारतले चीनको मुख्य अग्रसरतामा स्थापित एसियाली पूर्वाधार बैंकको दोस्रो ठूलो हिस्सेदारका रूपमा संलग्न रहेको तथा बंगलादेश, चीन, भारत र म्यानमारबीचको आर्थिक करिडोर (बीसीआईएम) मा सदस्य बनेर भारतले एक हिसाबले बेल्ट एन्ड रोड अवधारणामा सहभागिता जनाइसकेको बताउनुभयो । 'भारतले सरकारी तहमा मात्र बेल्ट एन्ड रोड अवधारणामा सहभागी नभएको बताइरहेको छ तर ऊ अर्को ढंगले त सहभागी भइसकेको छ', उहाँले भन्नुभयो ।नेपालका लागि पूर्वबंगलादेशी राजदूत हुमायुन कबिरले बंगलादेशले ओबीओआर अवधारणामा सहभागी भई समुद्री सिल्क रोडका माध्यमबाट चीनसँग कनेक्टिभिटी, पारवहन व्यापारलगायत क्षेत्रमा लाभ लिइरहेको बताउनुभयो । चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले चीन र दक्षिणएसियाबीच पुलका रूपमा नेपालले ओबीओआर फ्रेमवर्कभित्र रहेर काम गर्ने अवसर रहेको बताउनुभयो । कार्यक्रममा भारत, श्रीलंका, पाकिस्तान, बंगालदेशलगायत देशबाट सहभागी उपस्थित थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.