बजेटको मिति सार्ने तयारीमा सरकार

Everest Fuji News २०७४ बैशाख १४ मा प्रकाशित       Published at 2017 Apr 27


काठमाडौं । दुबै चरणको चुनाव सकिएपछि मात्र बजेट ल्याउने विषयमा सरकारले अन्य दलहरुसित सहमति प्रयास थालनी गरेको छ। दोस्रो चरणको चुनावअघि बजेट ल्याइँदा चुनाव प्रभावित हुनसक्ने भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले असहमति जनाइरहेको छ। सरकारले जेठ १५ गते बजेट ल्याउने योजना बनाएको थियो। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बजेट घोषणाको समय सार्ने विषयमा अघि बढेको जानकारी दिए। सरकारले चुनावी नतिजालाई प्रभावित पार्न बजेट ल्याउन लागेको भन्दै एमालेले असहमति जनाएपछि पूर्वनिर्धारित मितिमा बजेट घोषणा गर्नबाट सरकार पछि हट्न चाहेको हो। ‘हामी सबै दललाई विश्वासमा लिएर बजेट ल्याउने सोचमा छौं’ सञ्चारमन्त्री कार्कीले भने, ‘जेठ १५ पछिको केही दिन पर सार्न सकिन्छ भन्नेमा हामी अघि बढेका हौं।’ तर संवैधानिक व्यवस्थाको कारण १५ जेठपछि बजेट ल्याउन पनि त्यति सहज भने छैन। मन्त्री कार्कीले संशोधन प्रस्तावमा एमालेले देखाउने व्यवहारले बजेट निर्माण तथा घोषणा निर्धारण हुने बताए। यता, अर्थ मन्त्रालयका कर्मचारीहरु जेठ १५ मै बजेट ल्याउने तयारीमा जुटेका छन्। अर्थ सचिव शान्तराज सुवेदी बजेट सार्नेबारे सरकारबाट औपचारिक जानकारी नआएकोले पूर्वनिर्धारित मितिमै बजेट ल्याउने आफूहरुको तयारी भइसकेको बताउँछन्। सरकारले वैशाख ३१ मा तीनवटा र जेठ ३१ मा चारवटा प्रदेशमा स्थानीय निर्वाचन गर्ने घोषणा गरिसकेको छ। पहिलो चरणको चुनाव सकेर बजेट घोषणा गर्ने योजना सुनाएपछि सरकारसित एमाले सशंकित भएको हो।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.