काठमाडौं । केन्द्रिय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६ दशमवल ९४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर सबैभन्दा बढी पुगेको तथ्यांक विभागले जनाएको छ।
अनुकूल मौसमका कारण कृषि क्षेत्रको उत्पादनमा वृद्धि, पुनर्निर्माणका कार्यले लिएको गति र उर्जा संकटबाट पाइएको मुक्तिका कारण आर्थिक वृद्धिदर ६ दशमलव ९४ प्रतिशत पुग्ने विभागले प्रक्षेपण गरेको हो।
वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स क्रमश उत्पादनमूलक क्षेत्रमा लगानी हुनु, कृषिमा व्यवसायीकरण हुँदै जानु, देश राजनीतिक स्थिरतातर्फ उन्मुख हुनु, चुनावी वातावरण बन्नु, बन्द हड्ताल जस्ता कार्यमा कमी आउनु तथा सरकारले लिएका उत्पादनमूलक नीति कार्यान्वयनको पक्ष सुधार हुँदै जाँदा वृद्धिदर उच्च भएको हो।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही वृद्धिदर गत आर्थिक वर्ष २०७२–७३ मा ० दशमलव १ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७१–७२ मा २ दशमवल ९७ प्रतिशत हुने अन्तिम अनुमान रहेको छ।
चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रले ३० प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७२–७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३–७४ मा यस क्षेत्रको कुल मूल्य अभिबृद्धि वृद्धिदर ५ दशमलव ३२ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ।
चालू आर्थिक बर्षमा मौसम अनुकुल भएको, कृषि व्यवसायीकरणमा उल्लेख्य प्रगति हुँदै गएको, पुनर्निर्माणका लागि वन पैदावरका सामाग्री उत्पादनमा बृद्धि भएको तथा उत्खनन् क्षेत्रको उत्पादन बृद्धि जस्ता कारणहरुले यस क्षेत्रको उत्पादनमा निकै बृद्धि भएकोे तथ्यांकले देखाएको छ।
निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानी क्षेत्र चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा १४ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७२–७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३–७४ मा यस क्षेत्रको कुल मूल्य अभिबृद्धिको बृद्धिदर १० दशलमव ९७ प्रतिशतले बृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ।
खासगरी पुनर्निर्माण तथा अन्य निर्माण कार्यको तीब्रता, उर्जा क्षेत्रको विस्तार, औद्योगिक क्षेत्रमा भएको उत्पादन बृद्धि लगायतका कारण यस क्षेत्रको कुल मूल्य अभिबृद्धि बृद्धिदरमा उल्लेख्य प्रगति देखिन्छ।