Everest Fuji News२०७४ बैशाख २ मा प्रकाशितPublished at 2017 Apr 15
दोलखाः राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको निर्माण सम्पन्न हुन अब १३ प्रतिशत मात्र बाँकी छ ।
दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा निर्माण भइरहेको सो आयोजनाको निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीय खुसी भएका छन् । ठुल्ठूला चट्टान फोडेर बनाइएको सडक र नेपालमै पहिलो पटक सुरुङमार्गमार्फत सडक सञ्चालन गरी आयोजनाको काम तीव्र गतिमा बढिरहेको छ । विनाशकारी भूकम्पले आयोजना निर्माणमा एक वर्ष ढिलाइ भएको छ ।
चार सय ५६ मेगावाट विद्युत् क्षमता भएको सो आयोजनाको निर्माणसँगै जिल्लाको उत्तरी क्षेत्रमा सडक सञ्जाल जोडिएपछि स्थानीयको जीवनस्तरमा पनि सुधार आएको छ । आयोजना निर्माण नहुँदा चरीकोट आउनजान झन्डै चार दिन लाग्ने गरेको बताउँदै हाल एकै दिनमा आवातत्जावत गर्न पाएकोमा आफूहरू निकै खुसी भएको स्थानीय पेम्बा छिरिङ शेर्पा(मिजार साप)को भनाइ छ । उहाँले आफ्नो ठाउँमा यति ठूलो आयोजना बन्छ भन्ने नसोचेको बताउँदै आयोजनाको काम अन्तिम चरणमा पुगेको खबर सुन्दा निकै खुसी लागेको बताउनुभयो ।
त्यस्तै सोही स्थानकी मनमाया तामाङले पनि घर छेउँबाट बग्ने नदीबाट विद्युत् निस्कन लागेकोप्रति खुसी लागेको बताउनुभयो । आयोजना निर्माणले लामाबगर क्षेत्रको मुहार नै परिवर्तन गरेको उहाँले बताउनुभयो । टुकी बत्ती बालेर जीवन निर्वाह गर्दै आएकी मनमायाले आयोजना बनेपछि आफूहरूको घर र सारा देश नै उज्यालो हुने बताउनुभयो । हाल गाउँका अधिकांश व्यक्तिले सो आयोजनामा आफ्नो क्षमताअनुसारको काम गरिरहेका छन् ।
श्रीमान् आयोजनामा काम गर्ने र आफू घरको काम गरेर जीविकोपार्जन गर्दै आएको तामाङको भनाइ छ । आफूहरूले लगाएको खेतीबालीले तीन महिना पनि खान नपुग्ने अवस्थामा गाउँको आयोजनामा काम गर्न लागेपछि दुई छाक खान सहज भएको स्थानीयको भनाइ छ ।
आयोजनाको ८७ प्रतिशत काम सम्पन्न भइसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । हालसम्म ३३ अर्ब ३२ करोड रुपैयाँ लगानी भइसकेको सो आयोजनाको विनियोजित बजेट ३५ अर्ब २९ करोड रुपैयाँ थियो भने प्रक्षेपित लागत ४१ अर्ब ७२ करोड रुपैयाँ छ । भूकम्प र नाकाबन्दीको कारण २०७२ सालभरि आयोजना निर्माणमा प्रतिकुल असर परेको प्रवक्ता न्यौपानेको भनाइ छ । हालसम्म हेडवक्र्स कंक्रिटको काम ८६.५५ प्रतिशत, मुख्य सुरुङ खन्ने काम ८५.८५ प्रतिशत, टेलरेस सुरुङ खन्ने काम शतप्रतिशत, अडिटलगायत अन्य काम ८५.३५ प्रतिशत, विद्युतगृह र ट्रान्सफर्मर क्याभर्न खन्ने काम शतप्रतिशत र विद्युत्गृह र ट्रान्सफर्मर क्याभर्न कंक्रिटको काम ९४.३५ प्रतिशत सम्पन्न भइसकेको न्यौपानेले बताउनुभयो ।