Everest Fuji News२०७३ चैत्र ३० मा प्रकाशितPublished at 2017 Apr 12
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानअनुरुप महासंघको ५१औं वार्षिक साधारणसभाबाट भवानी राणा नेतृत्वमा पुगेकी हुन् ।
महासंघ विधानको छैठौं संशोधनबाट वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । राणा रोलक्रममा महासंघको १८औं अध्यक्ष हुन् । नवनियुक्त अध्यक्ष राणा यसअघि महासंघको कार्यकारिणी समिति सदस्य, महिला उद्यमी विकास समितिका सभापति, उपाध्यक्ष, हुँदै वरिष्ठ उपाध्यक्ष बनेकी थिइन् ।
उनले करिब १४ वर्ष महासंघमा रहेर सेवा गरिसकेकी छन् । .महासंघमा २०६२ सालमा प्रवेश गरेकी उनी २०६४–६७ मा पहिलो पटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएकी थिइन् । पर्यटन व्यवसाय क्षेत्रमा आवद्ध उनको मुख्य व्यावसायिक कार्यक्षेत्र बाँके र बर्दिया हो । उनी स्नेहा ग्रुपको व्यवस्थापन निर्देशक हुन् ।
सो ग्रुपअन्तर्गत स्नेहा होटल, स्नेहा ट्राभल्स र स्नेहा एग्रो कम्पनी सञ्चालित छन् । यसका साथै उनी स्नेहा कल्चरल इन्टरटेनमेन्टका निर्देशक, बी एन्ड एस कोलाब्रेसनका व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजका प्रर्वद्धक, पद्य क्रियसनका निर्देशक र बागेश्वरी विकास बैंकका प्रवद्र्धक रहेको महासंघले जनाएको छ ।