बेलायती व्यवसायीलाई नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्न नेपाल सरकारको आग्रह
Everest Fuji News२०७३ चैत्र ११ मा प्रकाशितPublished at 2017 Mar 24
नेपाल सरकारले बेलायती व्यवसायीलाई नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ ।
लर्ड मेयर अफ लन्डन डा.एन्ड्रियू पार्मलीको निम्तोमा बेलायत आएका उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुधबार म्यान्सन हाउसमा बेलायती व्यवसायीमाझ नेपाल सरकारले वैदेशिक लगानीकर्तालाई सधैं रेड कार्पेटमा स्वागत गर्ने बताए । आफ्नो कार्यपत्र प्रस्तुत गर्ने क्रममा मन्त्री जोशीले नेपालमा जलविद्युत् लगायत अधिकांश क्षेत्रको लगानीमा शत प्रतिशत नै विदेशी स्वामित्व राख्न सकिने बताउँदै विश्व बैंकको सूचीअनुरुप नेपाल दक्षिण एसियामा व्यवसाय गर्न दोस्रो सहज मुलुक भएको जिकिर गरे ।
मन्त्री जोशीले विदेशी कम्पनी खोल्न, आयोजना सञ्चालन गर्न तथा लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता लैजान पाउने व्यवस्था मिलाउन सरकारले विभिन्न कदम चालेको समेत बताए । कम्पनी ऐन, औद्योगिक प्रवर्द्धन बोर्ड ऐनमा संशोधन लगायत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नीतिमा पनि सुधार गरिएको जानकारी दिए । नेपालले सन् २०२२ भित्र निम्न आय भएका मुलुकको सूचीबाट उठेर निम्न मध्यम आम्दानी गर्ने मुलुक बन्ने लक्ष्य राखेको बताउँदै जोशीले बढ्दो आम्दानीका लागि उर्जा अत्यावश्यक भएको औंल्याए । उनले नेपालमा ठूला जलविद्युत् सम्भाव्यतामाथि प्रकाश पार्दै निम्न आम्दानीबाट मध्यम आम्दानी बढाउन नेपाललाई सन् २०३० भित्र ६ हजार मेगावाटभन्दा बढी उर्जा आवश्यक रहेको बताए । यसका लागि करिब ६ अर्ब ४५ करोड डलर लगानी लाग्ने उनको धारणा थियो ।