Everest Fuji News२०७३ फाल्गुन २८ मा प्रकाशितPublished at 2017 Mar 11
भारतबाट डेढसय मेगावाट आपूर्ति बन्द हुँदा पनि लोडसेडिङ भएन
काठमाडौं । शुक्रबारदेखि सुरु भएको वर्षाले नदीमा जलस्तर बढ्न गई विद्युत् उत्पादन थप भएपछि भारतबाट झण्डै डेढ सय मेगावाट बिजुली आपूर्ति बन्द हुँदा पनि लोडसेडिङ भएको छैन् ।
गएराति भारतको मुज्जफपुरमा ठूलो चट्याङ परेर अन्तरदेशीय प्रसारणलाइनमा लाइटिङ एरेस्ट भएपछि ढल्केबर मुज्जफपुरबाट १४५ मेगावाट बिजुली आपूर्ति बन्द भएको छ । विद्युत् आपूर्ति सुचारु गर्न भारतको मुज्जफपुरमा काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले साँझसम्म उक्त प्रसारणलाइनबाट बिजुली आपूर्ति हुने संभावना रहेको बताए । भारततर्फ समस्या आएकाले आपूर्ति सुचारु हुन कति समय लाग्छ भन्ने अवस्था नरहे पनि साँझसम्म नियमित आपूर्ति हुने अपेक्षा गरेको अधिकारीले बताए ।
भारतबाट ठूलो परिमाणको बिजुली आपूर्ति बन्द भएपनि प्रणालीमा कुनै समस्या नभएको उनले स्पष्ट पारे । शुक्रबारदेखि वर्षा भएपछि नदीमा जलस्तर बढेर विद्युत् उत्पादन थप भएपछि भारतबाट बिजुली बन्द भएपनि लोडसेडिङ नभएको उनको भनाइ छ । “वर्षाले ठूलो सहयोग गरेका कारण भारतबाट बिजुली आपूर्ति बन्द हुँदा पनि लोडसेडिग भएको छैन,” उनले भने “मौसमले साथ दिएकाले यस्तो अवस्था आएको हो ।”
नदीमा जलस्तर बढेर बिजुली उत्पादनमा सुधार आएपछि विद्युत् प्राधिकरणको आम्दानी बढ्ने उनको भनाइ छ । यसले आउन लागेको एसएलसी परीक्षालाई पनि सहयोग गरेको उनले बताए ।