गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तिब्र
Everest Fuji News२०७३ फाल्गुन २६ मा प्रकाशितPublished at 2017 Mar 09
काठमाडौं । आर्थिक संकट परेपछि काम अघि बढाउन नसकेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार कम्पनीले काममा चासो दिएको छ ।
चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन् एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले अहिले काममा तिब्रता दिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताउनुभयो ।
शर्माका अनुसार ठेकेदार कम्पनीले एक हप्ता यतादेखि काममा तिब्रता दिएको छ । आर्थिक अभावका कारण मंसिर महिनादेखि काम राम्रोसँग अघि बढ्न सकेको थिएन । आयोजना प्रमुख शर्मा भन्छन् ‘ठेकेदार कम्पनी आर्थिक संकटमा परेपछि मंसिर महिनादेखि राम्रोसँग काम अघि बढाउन सकेको थिएन । तर, एक साता यतादेखि फेरि कामले तिब्रता पाएको छ ।’
निर्माणका हिसाबले मंसिर पुस माघ फागुन र चैत्र महिना काम गर्न धेरै उचित मानिन्छ । तर, उल्लेखित महिनामै ठेकेदार कम्पनी आर्थिक संकटमा परेपछि उसले कामदारलाई समयमै तलब दिन सकेको थिएन । यही कारणले काम अघि बढ्न नसकेको शर्माको भनाइ छ ।
१० करोड पेश्की कटौती गर्ने निर्णय
निर्माण कम्पनीले काम सम्पन्न गरेपछि आयोजनाबाट पैसा लिने गर्छ । तर, केही रकम भने ठेकेदार कम्पनीले निर्माण सुरु गर्नअघि नै लिएको थियो । यस्तो पेश्कीलाई प्रत्येक महिनाको बिल पेश गरेपछि रकम दिँदा कटौति गर्ने गरिएको शर्माको भनाइ छ ।
तर, कम्पनी आर्थिक संटकमा परेपछि अहिले आयोजनाले एड्भान्स स्वरुप दिएको १० करोड रुपैयाँ बराबरको पैसा तत्कालका लागि नकाट्ने भएको छ । एशियाली बिकास बैंक र नागरिक उड्डयन प्राधिकरणले निर्माण पछिको रकम उपलब्ध गराइसकेका छन् । तर, एड्भान्स बापत काटिनु पर्ने रकम काटिएको छैन, जसका कारण ठेकेदार कम्पनीसँग केही रकम बच्न पुगेको छ । यसैबाट नै कामदार तथा अन्यलाई ज्याला दिन ठेकेदार कम्पनीलाई सहज भएको छ ।
काममा ढिलाइ गरेपछि केही समयअघि आयोजनाले नर्थवेस्टसँग स्पष्टीकरणसमेत मागेको थियो । आर्थिक समस्याका कारण समस्या भएको भन्दै ठेकेदार कम्पनीले तत्काललाई एड्भान्स बापतको रकम नकाटिदिन आग्रह गरेपछि आयोजनाले १० करोड बराबरको एड्भान्स नकाट्ने निर्णय गरेको हो ।