बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा चेक अनादर केसमा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिइएको छ । को अर्थ समिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० माथि भएको दफावार छलफलमा बोल्ने क्रममा अधिकांश सांसदहरुले सो माग राख्नुभएको हो । सांसदहरुले चेक अनादर मुद्दाको लागि ३० दिनको म्याद राख्न जरुरी नभएको भन्दै तत्काल अदालत वा प्रहरीमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था गर्नुपर्ने बताइएको छ । उहाँहरुले सरकारले कानून बनाउँदा गल्ति गर्नेलाई सहजिकरण हुने भन्दा पनि पीडितको हितको लागि कानून बनाउनु पर्नेमा जोड दिनुभएको छ । तर पूर्वअर्थमन्त्रीहरुले भने सरकारले सबै मुद्दालाई फौजगारी मुद्दामा जेल हाल्ने काम मात्रै भएकाले मेलमिलापको विकल्पको लागि ३० दिनको म्याद राख्नु जायज रहेको बताउनु भएको छ । सोही बैठकमा नेकपा माओवादी केन्द्रका सांसद छिरीङ डम्डुल लामाले पैसा नभएको बैंकको चेक काटेर चेक अनादर गर्नेलाई ३० दिनको म्याद नराखि सिधै कारबाही गर्नुपर्ने बताउनु भएको छ । उहाँले बैंकिङ कसुर तथा सजाय सम्बन्धि कानून पीडितको हित र अपराध नियन्त्रण गर्नेगरी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले कानूनलाई कडा भन्दा कडा बनाउँदा मात्रै बैंकिङ अपराधहरु रोकिने दाबी गर्नुभयो ।
यसैगरी, नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले पनि चेक अनादर अपराधमा पीडितले मुद्दा हाल्न ३० दिनको म्याद राख्न नहुने बताउनु भएको छ । उहाँले अझ त्यस्तो अपराध गर्नेलाई मुद्दा भन्दा पनि सिधा कारबाही हुने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
यसैगरी, पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय चेक अनादरका केसहरु वृद्धि हुँदै गएको बताउनु भएको छ । उहाँले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक चेक काट्नेहरुलाई सहजिकरण हुने तरिकाले आएको बताउनु भएको हो । उहाँले ३० दिनको म्याद राख्दा चेक दिएर पैसा दिनसक्छ भन्ने गरी व्यवस्था गरिएको देखिएको भन्दै विधेयकले आर्थिक कारोबारलाई सकेसम्म मेलमिलापको बाटोमा जानु ठिक भएको बताउनु भएको छ । उहाँले चेक अनादर हुने बित्तिकै अदालत जाँदा पैसा पाउनुपर्ने मानिसले समेत नपाएको अवस्था रहेको बताउनु भयो । उहाँले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक चेक अनादरमा सहज कानूनी व्यवस्था ठिक हुने बताउनु भयो ।
नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक रकम प्राप्त गर्नुपर्ने व्यक्तिले पाउनुपर्ने रकम प्राप्त गर्ने सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ । उहाँले चेक अनादरको विवाद मिलानको लागि एक महिनाको समय ठूलो नभएको बताउनु भयो । उहाँले बैंकका चेक जम्मा भएको एक महिना म्याद राख्नु ठिक हुने बताउनु भयो । पूर्वअर्थमन्त्री महतले म्याद राख्दा मेलमिलापको वातावरण बन्ने भन्दै त्यो व्यवस्थाले असुल उपरमा भुमिका खेल्नसक्ने बताउनु भयो ।
सोही बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि चेक अनादर गर्ने प्रवृत्ति रोक्ने गरी कानून बन्नुपर्ने बताउनु भयो । उहाँले कानून कार्यान्वयनको लागि सहजिकरण हुनेगरी कानून बनाउनुपर्ने उल्लेख गर्नुभएको थियो । उहाँले बैंकिङ कसुर तथा सजाय सम्बन्धि कानूनलाई व्यवहारिक र चेक अनादर हुने अवस्था सिर्जना नहुने विषयमा कानून बनाउँदा ध्यान दिन जरुरी रहेको बताउनु भएको छ ।।