मेलम्चीवासीका मागहरु पूरा नगरेसम्म मेलम्चीको पानी काठमडौं नपठाउने चेतावनी

Everest Fuji News २०८१ जेठ २३ मा प्रकाशित       Published at 2024 Jun 05


हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरु पूरा नगरेसम्म मेलम्चीको पानी काठमडौं नपठाउने चेतावनी दिनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु—मेलम्चीवासीका मागहरु पूरा नगरेसम्म पानी नपठाउने बताउनुभएको हो । उहाँले सरकारले बारम्बार हेलम्बुवासीका मागहरुको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौं पठाउने अडान लिनुभयो । उहाँले स्थानीहरुले वर्षा याममा आफूहरुलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भनेपनि सरकारले बेवास्ता गरिरहेको अरोप लगाउनु भयो । उहाँले अबको बजेटमा सरकारले हेलम्बु—मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको पनि बताउनु भयो । उहाँले एक वर्षको ६ देखि १० करोड बजेट विपद्मा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनाअनुसार गर्न नसकेको बताउनु भयो । 

यता राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा.गंगालाल तुलाधरले हेलम्बु—मेलम्चीवासीका जायज मागहरु पनि सरकारले पूर्ण रुपमा गर्न नसकेको बताउनु भयो । उहाँले त्यहाँका स्थानीयहरुलाई जोखिमपूर्ण स्थानहरुबाट सारेर व्यवस्थित बनाउनका लागि दिने भनिएको रकमहरु पनि दिन नसकेको बताउनु भयो । उहाँले कोप २८ मा समेत हेलम्बु मेलम्चीको कुरा ज्वलन्त ढंगले उठाएको बताउनु भयो । उहाँले हेलम्बु—मेलम्चीमा अहिले पनि ठूलो वर्षा भए फेरि पनि जोखिममा पर्नसक्ने, बाढीबाट बग्नुपर्ने परिस्थिति रहेको बताउनु भयो ।

सरकार मेलम्ची—हेलम्बुका जोखिम क्षेत्रहरुमा आवश्यक ध्यान दिनबाट चुकिरहेको बताउनु भयो ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.