विराटनगर/
प्रधानमन्त्री पुष्पकमला दाहालले विहिबार विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’ को शुभारम्भ गर्नुभएको छ ।
सातै प्रदेशमा हुने रोजगार मेला’ को शुभारम्भ भने विराटनगरबाट गएिको हो । कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीवार र शुक्रवार मेला सञ्चालन हुनेछ । बिहीवार प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याएको बताउनु भयो । उहाँले १ लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रवन्ध गरेको बताउनु भयो । उहाँले दृढ इच्छाशक्तिका साथ लाग्ने हो भने केही वर्षभित्रै नेपाललाई बदल्न सकिने बताउनु भयो ।
मेलामा कोशी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर रोजगारीका लागि आवेदन आह्वान गरेका छन् । रोजगारीको खोजीमा रहेकाहरूले सीप, क्षमता र योग्यताअनुसारको जागिरका लागि प्रश्ताव गर्न र जागिर प्राप्त गर्न मेला प्रभावकारी हुन सक्ने निजी क्षेत्रको पनि बुझाइ छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलाले रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्नसक्ने बताउनु भयो । मेलाले रोजगारदाता कम्पनी र श्रमको खोजिमा रहेका नेपाली नागरिकलाई जोड्ने पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशकै करिव ७० प्रतिशत उद्योग व्यवसाय भएको शहर विराटनगरमा आयोजित मेला रोजगारी खोजी गरिरहेका जनशक्ति र श्रमिक खोजी गर्ने उद्यमीहरूबीचको संगमस्थल बन्नसक्ने अनुमान छ । मेलामा सहभागी भएर आफ्नो योग्यता, सीप तथा क्षमताअनुसारको रोजगारीका लागि आवेदन दिनसमेत अपिल गरिएको छ ।।