अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताउनु भएको छ ।
मन्त्री पुनले अध्यादेशमा कसैको विमति नरहेको बताउनु भएको छ । मन्त्रिपरिषद् बैठकले लगानी प्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभई नेपालको भएको मन्त्री पुनको भनाई रहेको छ । उहाँले सो सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने उल्लेख गर्नुभयो । उहाँले नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध नभएको बताउनु भयो । मन्त्री पुनले लगानी सम्मेलन सरकारको वा सत्तापक्षमा भएका दलहरुको मात्र होइन । प्रतिपक्षको पनि हो र यो नेपालको पनि भएको बताउनु भयो । सम्मेलनको उद्घाटनदेखि समापनसम्म सबै राजनीतिक दलको अनुहार देखिने गरी कार्यक्रम बनाएको दाबी उहाँले गर्नुभयो । मन्त्री पुनले राजनीतिक संक्रमण र निर्वाचन प्रणालीका कारण बीचबीचमा सरकार परिवर्तन हुने गरेको भए पनि विकास, लगानी तथा स्वदेशी र विदेशी निजी क्षेत्रका लागि नीतिगत निरन्तरता रहँदै आएको स्पष्ट पार्नुभयो । मन्त्री पुनले पहिलो र दोस्रो लगानी सम्मेलनमार्फत आएका लगानीकर्ता तेस्रो सम्मेलनमा पनि उत्साहित भएको आफूले पाएको बताउनु भयो । पुँजी र लगानीको प्रवृत्ति नाफा कमाउनु भएकाले नेपालमा त्यसको वातावरण बन्दै गएकाले ठूलो संख्यामा वैदेशिक लगानी भित्रिने उहाँको विश्वास रहेको छ । उहाले पुँजीको प्रवृत्ति भनेकै बजार र नाफा भएको बताउदै सरकारमा समाजवादी वा पुँजीवादी अनुहारको व्यक्ति छ भन्ने कुरामा लगानी निर्भर नगर्ने दाबी गर्नुभयो ।।