दूधको भुक्तानी छ महिनादेखि नपाएको भन्दै किसानको विरोध

Everest Fuji News २०८० फाल्गुन १८ मा प्रकाशित       Published at 2024 Mar 01


इलाम/


 दुग्ध विकास संस्थान डीडीसी लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको भन्दै इलामका किसानले बिहीबार मेची राजमार्गमा विरोध जनाएका छन्।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ इलामको आयोजनामा भेला भएका करिब २०० किसानले सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन्। उनीहरूले यथाशीघ्र भुक्तानी पाउनुपर्ने माग राख्दै गरेको चक्काजामका कारण मेची राजमार्ग करिब एक घण्टा अवरुद्ध भयो।

इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले डीडीसीलाई बेचेको दूधको भुक्तानी छ महिनादेखि पाएका छैनन्। भुक्तानी नपाएर मारमा परेपछि किसानसम्बद्ध विभिन्न १५ संघसंस्थाले दूधको भुक्तानी माग गर्दै इलामलगायत देशभर आन्दोलन जारी राखेका छन्। उनीहरूले फागुन १० देखि आन्दोलनलाई निरन्तरता दिँदै इलाम जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। उनीहरूले किसानले उत्पादन गरेको सबै दूध बिक्ने वातावरण बनाउनेसहितका १८ बुँदे मागपत्र सरकारलाई बुझाएका हुन्।

डीडीसीले विराटनगर आयोजनासहित १० चिस्यान केन्द्रसमेत गरी दैनिक २६ हजार लिटर दूध संकलन गर्दै आएको छ। त्यसैगरी अन्तरआयोजना ढल्केवर र हेटौँडाबाट थप २१ हजार लिटर दूध विराटनगर आयोजनामा आउने गरेको छ। किसानबाट खरिद गरेको छ महिनाको रु ५० करोड बढी सहकारीमार्फत किसानलाई भुक्तानी दिन बाँकी रहेको डीडीसीले जनाएको छ। आयोजनाले विभिन्न सहकारीमार्फत इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दूध संकलन गर्दै आएको छ, जसमा कोशी प्रदेशका आठ हजार बढी किसान आबद्ध छन्।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.