ऋण तिर्न पर्दैन भन्ने भ्रममा नबस्न ,आमऋणीलाई अर्थमन्त्रीको आग्रह

Everest Fuji News २०८० फाल्गुन ५ मा प्रकाशित       Published at 2024 Feb 17


काठमाण्डौ /


चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन  काठमाण्डौमा शुरु भएको  कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले उलघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताउनुभयो । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै उहाँले जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँगाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उहाँको भनाइ थियो ।

प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै अर्थमन्त्री महतले गरिबीलाई शून्यमा झार्ने, स्थानीयस्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गर्नुभयो । ‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो । केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरूलाई कदापी सफल हुन दिने छैनौँ’, उहाँले भन्नुभयो, ‘ऋण नतिर्न उस्काउने खतरनाक प्रवृत्ति हो । सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तिलाई हराउनुपर्छ ।’

उहाँले ऋण तिर्न पर्दैन भन्ने भ्रममा नबस्न पनि आमऋणीलाई आग्रह गर्नुभयो । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले विभिन्न सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृत्ति परास्त हुन्छ’, महतले भन्नुभयो । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने उहाँको चेतावनी थियो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.