कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै उनले कोदो उत्पादन बढाई विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले बाँदरआतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन बढाउनुपर्ने उनको भनाइ छ। सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उनको भनाइ छ।
‘केही दशकअघिसम्म आमनेपाली जनताको खाद्य सुरक्षा र पोषणको एउटा प्रमुख स्राेतका रूपमा कोदो रहेको थियो। म आफैँले सानोमा कोदो रोपेको छु, धेरै प्रकार खाएको छु। अहिले क्रमशः घट्दै गएको छ। त्यसलाई फेरि हामीले क्रमशः पुनर्स्थापना गर्न खोज्दै छौँ,’ उनले भने।
खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य साबित हुन सक्ने मन्त्री भुसालको भनाइ छ। उनले जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम आएको बताए।