नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान सुरु गरेको छ।
आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको छ। भैरहवाबाट काठमाडौ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एकपटक भैरहवा आउने विमानमार्फत काठमाडौ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो।
आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए। हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ।