काठमाडौं
धितोपत्र बजारमा गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउने तयारी शुरू भएको छ । बोर्डले एक दशकभन्दा बढी समयदेखि अघि सारेको एनआरएनको लगानी भित्र्याउने योजनाले अब छिट्टै पूर्णता पाउने सम्भावना देखिएको छ ।
एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउनेबारे अध्ययन गर्न गठित समितिले पनि बोर्डलाई प्रतिवेदन बुझाइसकेको छ । बोर्डका प्रवक्ता एवम् समिति सदस्य मुक्ति श्रेष्ठले अध्ययन समितिले प्रतिवेदन तयार गरी अध्यक्ष रमेशकुमार हमाललाई बुझाइसकेको जानकारी दिए ।
समितिले एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी सञ्चालक बोर्डमा पेससमेत गरेको छ । अध्ययन समितिले नियमावली कार्यान्वयनमा हुन सक्ने कठिनाइ पहिचान गरी सोका लागि आवश्यक कार्यविधि बनाउन सिफारिससमेत गरेको जानकारी दिइएको छ ।
बोर्ड सञ्चालक समितिले उक्त प्रतिवेदन अध्ययन गरी दिएको निर्देशनबमोजिम प्रक्रिया अघि बढाउने श्रेष्ठको भनाइ छ ।
बोर्डले एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गत चैत १९ गते नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाबाट प्रतिनिधित्व गरेका सञ्चालक सुजन कुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यहरूमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल छन् । सो समितिलाई बोर्डले प्रतिवेदन तयार गर्न तीन महीनाको समय दिएको थियो ।
प्रस्तावित नियमावलीको कार्यान्वयनपश्चात् धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलतासमेत वृद्धि हुने बोर्डको विश्वास छ । एनआरएनको लगानीले धितोपत्र बजारमा माग पक्ष बलियो हुने, बजारमा अस्थिरता कम भइ मूल्य जोखिम कम हुनेलगायत सुधार देखिने बोर्डको भनाइ छ ।