बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगी क्लिनिकले धान्न नसकेपछि आइतबारदेखि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीका अनुसार सय बेड क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगी अस्पतालको रुपमा परिवर्तन गरेको हो । प्राडा कार्कीले भने, ‘अन्य बिरामीकै चाप थेग्न नसकिरहेको बेला डेंगी संक्रमित बिरामीको चाप झन् बढेपछि कोभिड–१९ अस्पतालको भवनलाई डेंगी अस्पताल बनाइएको हो ।’ उनका अनुसार पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० बेडको अब्जर्भेसन वार्डमा ८५ प्रतिशत बेड डेंगीका बिरामीले भरिएपछि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
केही दिनयता प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा दैनिक ६० देखि ७५ जना डेंगी संक्रमित आउने गरेका छन् । उनकाअनुसार डेंगीको प्रकोप बढेपछि उपचारबाट बञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावकाबीच पनि डेंगी अस्पताल सञ्चालनमा ल्याएको हो । उनले भने, ‘डेंगी संक्रमितको चापका कारण प्रतिष्ठानमा उपचारका लागि आउने अन्य बिरामीको उपचार सेवा समेत प्रभावित भएकाले पनि छुट्टै अस्पताल सञ्चालनमा ल्याइएको हो ।
यसअघि उक्त भवनलाई कोभिड–१९ अस्पतालको रुपमा प्रयोग गरिएको थियो । उक्त भवन तत्कालीन सरकारको शान्ति तथा पुनर्निर्माण मन्त्रालय, शान्ति कोष सचिवालयको सहयोगमा १० वर्षे जनयुद्धकालका द्वन्द्व पीडित घाइते तथा अपाङहरुका लागि निशुल्क उपचार गर्न सहरी विकास तथा भवन निर्माण विभागले ८ वर्षअघि १२ करोड लागतमा निर्माण गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो । गत जेठ १२ गतेदेखि कोरोना संक्रमित बिरामी नआएपछि कोभिड अस्पतालको भवन, बेड, विभिन्न मेडिकल उपकरण पछिल्लो पाँच महिनायता प्रयोगविहीन थियो ।