यो हप्ता नेपालमा डेंगु संक्रमित ह्वात्तै बढे..........

Everest Fuji News २०८० श्रावण १ मा प्रकाशित       Published at 2023 Jul 17


यो हप्ता नेपालमा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांङ्कअनुसार अघिल्लो हप्तासम्म एक हजार १९३ रहेको डेंगु संक्रमितको संख्या एक हप्ताको बीचमा दुई हजार ९३० पुगेको छ।

महाशाखाको विवरणअनुसार हालसम्म यो वर्ष कोशी प्रदेशमा डेंगुका बिरामी धेरै भेटिएका छन। कोशी प्रदेशमा हालसम्म संक्रमितको संख्या १७४६ जना पुगेको छ ।

यस्तै गण्डकी प्रदेशमा २६९, बाग्मती प्रदेशमा ४६८, सुदुरपश्चिम प्रदेशमा २७९, लुम्बिनी प्रदेशमा १३४ र कर्णाली प्रदेशमा सबैभन्दा कम १८ जना संक्रमित भेटिएका छन।

जिल्ला तहमा हेर्ने हो भने असार यता कोशी प्रदेशको सुनसरीमा सबैभन्दा धेरै १५७१ जना संक्रमित भेटिएको छ। यस्तै धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या १०० भन्दामाथि छ। महाशाखाको विवरणअनुसार हाल धादिङमा २५८, दार्चुलामा १८८ र कास्कीमा १४९ जना संक्रमित पुगेका छन। संक्रमितको संख्या बढिरहेको तर संक्रमितको संख्या १०० ननाघेका जिल्लाहरुमा संखुवासभामा ५८, काठमाडौंमा ४६,भक्तपुरमा ३५, कन्चनपुरमा ३९, म्याग्दीमा ३५ र झापामा ३२ जना रहेका छन। यस्तै गतवर्ष महामारीकै रुप लिएर डेंगु संक्रमण फैलिएको ललितपुर जिल्लामा भने यो वर्ष जम्मा २६ केश रिपोर्ट भएको महाशाखाले जनाएको छ।

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल यो हप्ता डेंगु संक्रमितको संख्या अलि बढेको बताउँछन। उनले भने,’सुनसरी जिल्लामा डेंगुका संक्रमितको संख्या अलि बढेको छ,अबको एक÷डेढ महिना डेंगुको संक्रमण बढ्ने मौसम हो, त्यसैले सबै जना सतर्क भइ डेंगुको जोखिम बढ्न नदिन आफ्नो घरवरपर सफा राख्नुका साथै अन्य सावधानी समेत अपनाउनुपर्छ।’

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। त्यसबेला ५४ हजार ७८४ जनामा संक्रमण भएको थियो। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.