हिमाली जिल्ला मनाङमा लम्पी स्किन अर्थात् गाईबस्तुको (छालामा हुने गिर्खे रोग) भेटियो

Everest Fuji News २०८० असार २८ मा प्रकाशित       Published at 2023 Jul 13


हिमाली जिल्ला मनाङमा पनि लम्पी स्किन अर्थात् गाईबस्तुको (छालामा हुने गिर्खे रोग) भेटिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको भेटिएको जानकारी दिनुभयो ।

किसानले गोरु बिरामी भएको खबर गरेपछि अस्ति मङ्गलवार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयो । मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो ।

मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको पनि पशु चिकित्सक नारायण कुसुमले जानकारी दिनुभयो । अस्तिदेखि चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन शुरु गरिएको हो । केही दिनपछि नासो गाउँपालिकामा पनि खोप लगाउन शुरु गर्ने उहाँले बताउनुभयो । मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताउनुभयो ।

मनाङमा पनि लम्पी स्किन देखिएपछि देशका ७७ वटै जिल्ला यो रोग फैलिएको पुष्टि भएको छ । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.