वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा गर्दै आएको ‘भद्र सहमति’ तोडेका छन् । बैंकमा लगानीयोग्य रकम थुप्रिन थालेपछि नेपाल बैंकर्स एसोसिएशनको बैठकले ब्याजदरमा गर्दै आएको भद्र सहमति तोडेका हुन् ।
अब बैंकर्स सङ्घले नभई बैंकहरूले फरक–फरक दरमा निपेक्षको ब्याज तोक्न पाउनेछन् । यो निर्णय साउनको १ गतेदेखि लागू हुनेछ । बैंकर्स सङ्घमा भएको भद्र सहमतिका कारण बैंकमा पैसा थुप्रिए पनि कर्जा प्रवाह नहुँदा समस्या भएको थियो । वाणिज्य बैंकहरूले अहिले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ दशमलव ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् ।
अब बैंकहरूले साउन महिनाका लागि योभन्दा बढी वा कम ब्याजदर तोक्न सक्ने छन् । बैंकहरूले ब्याज बढाउन चाहेमा झन्डै ११ प्रतिशत नजिक पुग्छ भने घटाउन चाहेमा ९ प्रतिशत हाराहारीमा आउनेछ । निक्षेपको ब्याज नघटी कर्जाको पनि नघट्ने हुँदा अब बैंकहरूले निक्षेपको ब्याजदर केही कम गरेर कर्जा विस्तार गर्ने तयारी गरेका छन् ।
बैंकहरूमा अहिले पनि यसअघि बैंकहरूले गरेको भद्र सहमतिलाई धेरैले ’सिन्डिकेट’ र ’कार्टेलिङ’ भन्दै आलोचना गरेकोमा अब यस्तो आरोपबाट पनि बैंकहरूले छुटकारा पाएका छन् ।