धान खेतीका लागि उर्वर भूमि मानिने झापामा ५३ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ भएको हो ।
समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ गर्न सकिएको उनले बताए ।
झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ। सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ ।
हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उनको भनाइ छ ।
जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् ।
कृषि ज्ञान केन्द्र झापाले धान खेतीमा नवीनतम मेसिनरी प्रयोग कार्यक्रमअन्तर्गत कनकाई नगरपालिका र गौरादह नगरपालिकामा ३५ कट्ठा जमिनमा छरुवा धान खेतीसमेत गरिएको जानकारी दिएको छ ।
शिवाकोटीका अनुसार कनकाई नगरपालिकाको विनुबाजा कृषि सहकारी संस्थाले २५ कट्ठा र गौरादह नगरपालिकामा रहेको महारानी झोडा कृषि सहकारी संस्थाले १० कठ्ठामा ज्ञान केन्द्रको सहयोगमा छरुवा धानको खेती गरेका छन् ।